close

आधा शताब्दीदेखिकाे थातथलाे मास्न खाेजेकाे भन्दै आत्मदाह गर्ने स्थानीयको चेतावनी 

आधा शताब्दीदेखिकाे थातथलाे मास्न खाेजेकाे भन्दै आत्मदाह गर्ने स्थानीयको चेतावनी 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको मोतीपुरबासीको वैकल्पिक व्यवस्थाबिना औद्योगिक कोरिडोर शिलान्यास हुन नदिने स्थानीयले चेतावनी दिएका छन् । मोतीपुर औद्योगिक करिडोरपीडितले पत्रकार सम्मेलन गर्दै शिलान्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् ।

 

शुद्धोधन गाउँपालिकाको वडा नम्बर ३ मा भएको पत्रकार सम्मेलनमा संघर्ष समितिका रामप्रसाद पाण्डेले राज्यबाट गास, बास, कपासको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन नदिइने बताए ।

 

२०२२ देखि किसानले जोतभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर लुट्ने काम भएको आरोप उनको छ । शुद्धोधन वडा नम्बर ३ का वडाध्यक्ष शिव खड्काले करिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको दाबी गरे ।

 

स्थानीय किरण नेपालले सरकारलाई किसानले कर तिरिरहे पनि यहाँको वस्तुस्थिति नबुझी कदम चालिएको गुनासो गरे । ईआएएसमेत नभएको अवस्थामा जबर्जस्ती काम अघि बढाएकाले स्थानीयको बसोबासको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ । 

 

गत १३ फागुनमा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भए पनि संसद् पुनस्र्थापनापछि सिर्जित परिस्थितिका कारण स्थगन गरिएको थियो । औद्योगिक क्षेत्रका लागि सरकारले लागत कट्टा गरेको जग्गाभित्र ३ हजार बढी परिवार बसोबास गर्दै आएका छन् ।

 

माग सम्बोधन नगरी औद्योगिक क्षेत्र स्थापना भए ५० वर्षदेखि बस्दै आएका स्थानीयको गास, बास र कपास खोसिने संघर्ष समितिका सदस्य बाबुराम घिमिरे बताउँछन् । रानीगञ्ज, साविक मोतीपुर, तिलोत्तमालगायत क्षेत्रमा ३ हजार बढी घरपरिवार बस्दै आएका छन् ।


अर्थमन्त्री पौडेलले शिलान्यास गर्ने गरि कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।


औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष नन्दकिशोर बस्नेतले भने मोतीपुरमा बसोबास गर्दै आएका सबैको माग सम्बोधन हुने बताए । बस्नेतले औद्योगिक क्षेत्र निर्माण हुने २ सय ४५ बिघामा मात्र शिलान्यास हुन लागेको जानकारी उनले दिए ।

 

‘काम अगाडि बढ्दै जाँदा सबैको माग सम्बोधन हुनेछ । डीपीआरमा सबैको लगत लिइएको र ईआईएमा बाँकी स्थानीयका माग सम्बोधन भएको र औद्योगिक क्षेत्रको परियोना सुचारु हुँदासम्म सबैको माग पूरा हुन्छ’, बस्नेतले भने ।