close

बरदान सावित भए कोरोना अस्थायी अस्पताल 

संक्रमितको सट्टा अन्य प्रकृतिका बिरामीको भीड 

बरदान सावित भए कोरोना अस्थायी अस्पताल 

संक्रमितको सट्टा अन्य प्रकृतिका बिरामीको भीड 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा गत ११ मंसिरमा स्थायी कोभिड अस्पताल स्थापना भयो । संघीय सरकारले उपलब्ध गराएको १० लाख र नगरपालिकाको लगानीमा स्थापना गरिएको ५ शय्याको अस्पतालमा हालसम्म १ जना पनि कोभिड संक्रमित बिरामी पुगेका छैनन् । 


अस्थायी कोभिड अस्पतालमा संक्रमितको सट्टा अन्य प्रकृतिका बिरामीको भीड लाग्न थालेपछि जनरल ओपिडी नियमित सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । 

 

यस्तै, रावाबेँसी गाउँपालिका वडा नम्बर १ कुभिन्डेको हरम्टारमा गत १५ मंसिरमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा पनि संक्रमित पुगेनन् । तर, अन्य स्वास्थ्य समस्या भएका बिरामीले उपचार पाइरहेको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी दिए ।

 

‘कोभिड–१९ संक्रमित बिरामी आएनन् । अहिले अरू खाले बिरामी उपचारमा आइरहेका छन्,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘एमबिबिएस डाक्टर नै भएपछि अन्य स्वास्थ्य समस्या भएका बिरामी लाभान्वित भएका छन् ।’ 

 

खोटाङका १० वटामध्ये धेरैजसो स्थानीय तहमा स्थायी कोभिड अस्पताल स्थापना गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसीका, ऐँसेलुखर्क, जन्तेढुंगा, खोटेहाङ र बराहपोखरीले अस्थायी कोभिड अस्पताल स्थापना गरिसकेका छन् ।


तर, अधिकांश कोभिड अस्पतालमा उपचारका लागि संक्रमित पुगेका छैनन् । हरेक कोभिड अस्पतालमा हाल अन्य बिरामीको स्वास्थ्य जाँचका साथै औषधोपचार भइरहेको छ । वडा–वडाका स्वास्थ्य चौकीले कतिपय बिरामीलाई कोभिड अस्पतालमै रेफर गर्ने गरेका छन् । 


हुन पनि अस्थायी कोभिड अस्पतालमा एक्सरे र भिडियो एक्सरेबाहेक अन्य सेवा–सुविधाको व्यवस्था छ । एमबिबिएस डाक्टर, स्टाफ नर्सलगायत जनशक्तिसहितको कोभिड अस्पतालमा अन्य प्रकारका स्वास्थ्य सेवा पाउँदा स्थानीय हर्षित छन् । अस्थायी कोभिड अस्पतालमा केही उपकरण, जनशक्ति र औषधीको मात्र थप गर्न सके कोभिड अस्पतालबाट जिल्ला अस्पतालसरहको सेवा प्रवाह गर्न सकिने वातावरण बनेको हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले बताए । 


स्थानीय तहमा कोरोना संक्रमित भेटिए उपचारका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी नगरपालिकामा स्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । अस्थायी कोभिड अस्पतालमा १ जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । एमबिबिएस डाक्टरकै उपस्थिति भएकाले खोटेहाङ, दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा पनि अन्य बिरामीले स्वास्थ्य सेवा पाउने वातावरण बनेको छ । 

 

स्थायी अस्पताल बन्दै 


३ महिनाका लागि स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई कतिपय स्थानीय तहले स्थायी अस्पताल बनाउने निर्णय लिएका छन् । हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाले अस्थायी कोभिड अस्पताललाई स्थायी बनाउने निर्णय लिइसकेका छन् । 

 

३ महिनाका लागि स्थापना गरिएको कोभिड अस्पताललाई आगामी असार मसान्तसम्म निरन्तरता दिन समन्वय गरिदिन आग्रह गर्ने निर्णयसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २९ पुसमा पत्र पठाएको थियो । तर, कतिपय स्थानीय तहले सो पत्र प्राप्त हुनुअगावै अस्थायी कोभिड अस्पतालाई निरन्तरता दिने निर्णय गरिसकेका थिए ।


संघीय सरकारको सहयोगमा ३ महिनाका लागि स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई स्थानीय तहले आफ्नै खर्चमा स्थायी अस्पतालका रूपमा निरन्तरता दिने तयारी गरेका हुन् ।

 

३ महिनासम्मका लागि आर्थिक सहयोग गर्ने गरी स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई आफ्नै स्रोत– साधनबाट स्थायी रूपमा निरन्तरता दिइने हलेसी तुवाचुङ नगरप्रमुख राईले बताए । 

 

दिप्रुङ चुइचुम्माले कार्यपालिका बैठकबाटै अस्थायी कोभिड अस्पताललाई आफ्नै खर्चमा असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरिसकेको छ । अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीलाई गाउँपालिकाले विनियोजन गरेको अस्पताल व्यवस्थापन शीर्षकको बजेटबाट खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।

 

यस्तै, खोटेहाङ गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पतालको ठाउँमा १५ शय्याको अस्पताल बनाउने तयारी गरेको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणीपोखरीमा स्थापना गरिएको ५ शय्याको अस्थायी कोभिड अस्पताललाई स्थायी अस्पताल बनाउनका लागि पैसा उठाएर साढे ५ लाख रुपैयाँमा ९ रोपनी जग्गा खरिद गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

 

ऐँसेलुखर्क गाउँपालिकामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालले भने निरन्तरता नपाउने भएको छ । संघीय सरकारले उपलव्ध गराएको १० लाख र सम्बन्धित स्थानीय तहको खर्चमा स्थानीय तहमा ५ शय्याको अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । महामारीमा स्थापना गरिएको कोभिड–१९ अस्थायी अस्पताल नै केही समयपछि १५ शय्याको अस्पतालमा रुपान्तरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा उल्लेख छ । 


दोस्रो प्राथमिकतामा परेका १० हजारलाई कोरोनाविरुद्धको खोप 


कोभिड–१९ बाट प्रभावितमध्ये दोस्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढी नागरिकलाई खोप दिने तयारी गरिएको छ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगी गरी १० हजार १ सय १४ जनालाई आगामी २३ फागुनदेखि खोप दिने तयारी गरिएको हो । 

 

जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको पत्रकारसँगको अन्तरक्रियामा आगामी २३ फागुनदेखि ८ चैतभित्र कोभिड–१९ बाट प्रभावितमध्ये दोस्रो प्राथमिकताको रूपमा पहिचान गरिएका लक्षित समूहलाई खोप दिने तयारी भएको जानकारी दिइएको हो । 

 

दोस्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भए पनि खोप अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीलाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 


पहिलो प्राथमिकताका लक्षित समूहलाई जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क र स्वास्थ्य चौकी खोटाङ बजारबाट कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोस्रो प्राथमिकताका लक्षित समूहलाई भने ७९ वडाका स्वास्थ्य संस्थाबाटै खोप दिने तयारी भइरहेको छ ।

 

कोरोनाविरुद्धको खोपका लागि हरेक स्वास्थ्य संस्थामा ३–३ दिन शिविर सञ्चालन गरिने जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ । 


पालिकास्तरीय योजना तयार 


कोभिड–१९ बाट प्रभावितमध्ये दोस्रो प्राथमिकतामा परेका सर्वसाधारणलाई खोप दिन जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिले पालिका स्तरीय खोप योजना बनाएको छ । 

 

पहिलो चरणमा २३ देखि २९ फागुनसम्म ऐँसेलुखर्क गाउँपालिका, केपिलासगढी, रावाबेँसी, साकेला, दिपु्रङ चुइचुम्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङका लक्षित समूहलाई खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । यस्तै, दोस्रो चरणमा आगामी २ देखि ८ चैतभित्र बराहपोखरी गाउँपालिका, जन्तेढुंगा र खोटेहाङका लक्षित समूहलाई खोप दिने तयारी छ ।