close

कावासोतीमा सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन हुने 

कावासोतीमा सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन हुने 

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– पूर्वी नवलपरासीको कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि बिहीबार सम्झौता भएको छ । 

 

कावासोती नगरपालिकाले नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभागबीच २२ करोड २ लाख ४१ हजार १ सय ३१ रुपैयाँ बराबरको सम्झौता भएको हो । विभागका महानिर्देशक नवराज प्याकुरेल र कावासोतीका नगरप्रमुख चन्द्रकुमारी पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

 

सम्झौताअनुसार उक्त रकम भौतिक निर्माण तथा स्वरोजगारका क्षेत्रमा खर्च गरिनेछ । विश्व बैंकको सहयोगमा हुने यस कार्यक्रम ३ वर्षसम्म चल्ने कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । 

 

चालू आर्थिक वर्षमा २ करोड २० लाख, दोस्रो वर्ष १३ करोड २१ लाख ४४ हजार ६ सय ७९ र तेस्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३ सय ३९ रुपैयाँ बराबरको काम हुने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । 

 

गण्डकी प्रदेशमा प्रदेशभित्रको फलेवास र कावासोतीका साथै देशभरका ३३ वटा नगरपालिकामा यो आयोजना सञ्चालन हुने कार्यक्रममा जानकारी दिइयो । कावासोतीमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन हुनु महत्त्वपूर्ण भएको नगरपालिका प्रमुख पुनले बताइन् । 

 

आयोजनाबाट सडक, नाला निर्माण, खानेपानी र सरसफाइ, स्वास्थ्य ,शिक्षा, फोहोर व्यवस्थापन, पार्क निर्माणलगायत काम गरिने कावासोतीका इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए ।