close

दोभान बजार आगलागी: ४० करोड बढीको क्षति अनुमान

दोभान बजार आगलागी: ४० करोड बढीको क्षति अनुमान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० करोड ५ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ ।

 

मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेको संयोजकत्वमा गठित क्षति संकलन टोलीले क्षतिको पूर्ण विवरण सार्वजनिक गरेको हो । आङ्देम्बेका अनुसार ५० घर जल्दा ६३ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा १ सय ६८ महिला र १ सय ५६ पुरुष गरी कूल ३ सय २४ जना रहेको आङ्देम्बेले बताए ।

 

आगलागीबाट व्यक्तिगत तथा निजीतर्फको कुल ३८ करोड ८३ लाख २४ हजार २९ रुपैयाँ र सरकारी तथा अन्य वित्तीय संस्थाको १ करोड २२ लाख ५० हजार रुपैयाँ क्षति भएको विवरण संकलन भएको छ । सरकारीतर्फ सबैभन्दा बढी क्षति नेपाल टेलिकमको भएको छ । टावरसहितको संरचना जल्दा १ करोड बराबर क्षति भएको विवरण आएको आङ्देम्बेले जानकारी दिए ।

 

यस्तै, दोभान मनी ट्रान्सफरको १५ लाख, ग्लोबल आईएमई बैंकको ३ लाख, विद्युत् प्राधिकरणको २ लाख र मेरिङ्देन गाउँपालिकाले जडान गरेको सिसिटिभीको २ लाख ५० हजार रुपैयाँ क्षति भएको छ । आगलागीबाट नगद २ करोड ४४ लाख ८ हजार रुपैयाँसमेत जलेको छ भने १५५.८७५ तोला सुन, ५२०.९६० तोला चाँदी जलेको छ । यस्तै, २९ हजार ६१७ किलो अलैँची र ४१ हजार १७५ किलो चामलसहितको सामान जलेको संकलित क्षति विवरणमा उल्लेख छ । 

 

प्रदेश सरकारको आपतकालीन राहत 

 

प्रदेश १ सरकारले अग्निपीडित परिवारका लागि दिइने राहत सहयोगको घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राई आगलागीग्रस्त क्षेत्रमा आफैं उपस्थित भएर प्रदेश सरकारले दिने सहयोग रकम घोषणा गरेका हुन् ।

 

उनले प्रदेश सरकारले घर गुमाएका दोभान बजारका अग्निपीडितका लागि प्रतिघरधनी बराबर ५० हजार र डेरा÷भाडामा बस्ने परिवारका लागि प्रतिपरिवार ३० हजार रुपैयाँका दरले राहत रकम दिने घोषणा गरे । 

 

यसबाहेक दीर्घकालीन पुनस्र्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकारले मिलेर योजना बनाउने र क्रमशः अग्निपीडितलाई सहयोगका प्याकेज दिइने उनको भनाइ छ ।

 

प्रदेश सरकारले आपतकालीन राहतअन्तर्गत अग्निपीडित प्रत्येक परिवारलाई ग्यास सिलिन्डर, चुल्होलगायत सामग्री बिवरण गर्नेछ । मुख्यमन्त्री राईमार्फत प्रदेश सरकारले खाद्यान्न सामग्रीसहित आपतकालीन राहत वितरणसमेत गरेको छ । 

 

कार्यक्रममा मुख्यमन्त्रीसँगै आएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दोभान बजारका आगलागीपीडितको सहयोगका लागि सबै तहको सरकार साथमा रहेको बताए । 

 

संविधानसभा सदस्य भूपेन्द्र थेबे, प्रदेशसभा सदस्यद्वय टंक आङ्बुहाङ र प्रतापप्रकाश हाङ्गाम, प्रदेश १ सरकारका प्रमुख सचिव सुमनराज अर्याल, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला र मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङलगायत उपस्थित थिए । 

संघीय सरकारको टेन्ट र कम्बल

संघीय सरकारले आपतकालीन राहतअन्तर्गत ठूला प्रकृतिका टेन्ट र कम्बल वितरण गरेको छ । गृह मन्त्रालयमार्फत प्राप्त ती सामग्री अग्निपीडितलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार गृह मन्त्रालयबाट ५० थान टेन्ट र कम्बल प्राप्त भएको थियो । 


राहत संकलन र वितरणमा एकद्वार नीति 


मेरिङ्देन गाउँपालिकाले राहत संकलन तथा वितरण प्रक्रियामा एकद्वार नीति अपनाउने भएको छ । पालिकाको बैठकले राहत संकलन तथा वितरण प्रक्रियामा एकद्वार नीति अवलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले जानकारी दिए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेका अनुसार राहत संकलनका लागि पालिकाले एनसीसी बैंकको मेरिङ्देन शाखामा खोलेको प्रकोप व्यवस्थापन खाता ग–७–२ १५३०००००००६०१ नम्बरको खाता प्रयोगमा ल्याइएको छ । सहयोग गर्नेले सोही खातामा रकम जम्मा गर्न र सोझै नगदै प्राप्त भए सोही खातामा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।