close

सरकार–विप्लव सहमतिः हिंसात्मक राजनीतिक युगको अन्त्य 

३ बुँदे सहमतिलाई अक्षरशः पालन गर्ने नेत्रविक्रम चन्दको प्रतिबद्धता

सरकार–विप्लव सहमतिः हिंसात्मक राजनीतिक युगको अन्त्य 

३ बुँदे सहमतिलाई अक्षरशः पालन गर्ने नेत्रविक्रम चन्दको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल शान्ति युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

 

शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरे । शान्ति खोजिरहेका जनताको आकांक्षा यो सहमतिले पूरा भएको प्रधानमन्त्रीले बताए । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजीलाई बधाइ, स्वागत र शुभकामना दिन चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्य र पार्टीका तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

 

प्रधानमन्त्री ओलीले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए । ‘नेपाल शान्ति युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ उनले थपे, ‘कसैले पनि नहारेको र देशले जितेको दिन हो ।’ 

 

३ बुँदे सहमतिमा प्रतिबद्ध छु: विप्लव 

 

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको ३ बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताए । सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘३ बुँदेमा हामी प्रतिबद्ध छौँ, पालना गर्छौं । आशंका गर्न जरुरी छैन ।’

 

यस्तो छ ३ बुँदे सहमति–पत्र


१. दुवै पक्ष नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएका छौँ ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।

 

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरूलगायत पनि उपस्थित थिए । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । 

 

विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली बनाएको थियो ।  दुवै तर्फका वार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमति शुक्रबार हस्ताक्षरसहित सार्वजनिक गरिएको हो । 

 

हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले १ वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको जानकारी दिए ।