close

जिसस म्याग्दीले थाल्यो योजना अनुगमन

जिसस म्याग्दीले थाल्यो योजना अनुगमन

Trulli
ADVERTISEMENT

म्याग्दी– जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा आयोजनाको अनुगमन सुरु गरेको छ । समितिले धवलागिरि गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो ।


जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र बिहीबार धवलागिरिको सडक, विद्यालय, स्वास्थ्य चौकीको भवन, शौचालय, खानेपानी आयोजनाको निरीक्षण गरे ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण सम्पन्न गरेका विद्यालयका भवन तथा निर्माणाधीन भवन, शौचालय र खानेपानी पूर्वाधार परियोजना निरीक्षण गरिएको थियो ।


बेनी–दरवाङ, दरवाङ धारापानी सडक स्थलगत निरीक्षण गर्दै जिसस प्रमुख केसीले काम सन्तोषजनक नरहेको बताए । 


हेम नमुना आवासीय मावि शिवाङ, धनजनता मावि मुना, लमसुङ मावि लमसुङको ४ कोठे भवन र लुलाङ आधारभूत विद्यालय लुलाङको २ कोठे निर्माणाधीन भवन, शौचालय निरीक्षणका साथै विद्यालयमा विद्यार्थी अवस्था, शिक्षकको दरबन्दी, निजी र राहत शिक्षकको अवस्थाबारे जानकारी लिएको उनले बताए ।


उनले भूमे आधारभूत विद्यालय मच्छिममा निर्माणाधीन ४ कोठे भवनलगायत संरचना अनुगमन 
गरे । ४ कोठे भवन निर्माणमा ७० लाख र शौचालय निर्माणमा १५ लाख रुपैयाँको बजेट छ । 


पूर्वाधार विकास कार्यालय म्याग्दीले मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महताल भीर क्षेत्रमा सडक र संघको ६० लाख, प्रदेशको ५० लाख रुपैयाँमा मुनामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको प्रगतिबारे अनुगमन गरिएको थियो ।


त्यस्तै, पूर्वाधार विकास कार्यालय, गाउँपालिकाद्वारा निर्माण भएका लुलाङ मुदीको सडकलगायत पूर्वाधार अनुगमन गर्दै ग्रामीण बस्तीका सेवा–सुविधा निर्माणले गति लिएको देखिएको जिसस प्रमुख केसीले बताए ।


‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विद्यालय पूर्वाधार निर्माण योजनाले विद्यालयको संरचनामा परिर्वतन आएको छ’, जिसस प्रमुख केसीले भने, ‘भूकम्पप्रतिरोधी क्षमताका भवन निर्माणपछि पठनपाठन सहज भएको देखिन्छ ।’ 


पूर्वाधारसँगै व्यवस्थापन समिति, शिक्षक, अभिभावक गुणस्तर सुधारमा सक्रिय हुनुपर्नेमा उनले जोड दिए । विद्यालयका प्रअ र व्यवस्थापन समिति संलग्न भएर भवनलगायत पूर्वाधार निर्माण भएको जिसस प्रमुख केसीको भनाइ छ ।