close

स्थानीय तह कर्मचारी युनियनको बागमती प्रदेश गठन 

स्थानीय तह कर्मचारी युनियनको बागमती प्रदेश गठन 

Trulli
ADVERTISEMENT

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टको सहयोगी भएर सरकारमा नजाने बताएका छन् । बागमती प्रदेश पूर्ण समिति गठन तथा कर्मचारीको वर्तमान अवस्था विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।


‘नेकपाभित्रको अहिले संसद्मा प्रधानमन्त्रीको र पार्टीमा पुष्पकमल दाहाल–माधव नेपाल पक्षको पकड बलियो देखिन्छ । प्रधानमन्त्री केपी ओली खेमाले सरकार गठन गर्न पार्टीको निर्देशन नचाहिने बताएको छ भने अर्को पक्षले पार्टीको निर्णय मान्नुपर्ने बताएको छ,’ साउदले भने, ‘कांग्रेसका केही व्यक्तिलाई मन्त्री बनाउन र उनीहरूको झगडामा एउटालाई सहयोग गर्न सरकारमा जाँदैनौँ । तटस्थ रहन्छौँ ।’ 

 

नेकपाको राजनीतिक खिचातानीमा देश नै अनिर्णयको बन्दी बन्ने अवस्था आए मात्र अरूको सहयोगी भएर नभई कांग्रेसकै नेतृत्वमा निकास दिइने उनको भनाइ छ । कार्यक्रममा कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँले कर्मचारी र जनप्रतिनिधिको मजबुत सम्बन्धले मात्र नागरिकको विकास चाहना पूरा गर्न सकिने बताए । कर्मचारीले पेसागत हक र सेवा प्रवाहलाई सन्तुलित रूपमा अगाडि लिएर जानुपर्नेमा उनले जोड दिए ।


युनियनको बागमती प्रदेश पदाधिकारीमा शिवजी भट्टराई (काठमाडौं) को अध्यक्षतामा गठित समितिको पदाधिकारीतर्फ हरि प्याकुरेल (नुवाकोट) उपाध्यक्ष, यज्ञराज घिमिरे (गोपाल) काठमाडौं, सचिव धनमाया श्रेष्ठ (रामेछाप) कोषाध्यक्ष चुनिएका छन् । 

 

सदस्यतर्फ हेरम्बराज अधिकारी (सिन्धुली), शिवजी अधिकारी (चितवन), गोविन्द बुढाथोकी (दोलखा), विवेक खतिवडा (धादिङ), सुप्रभा कार्की (रामेछाप), गोविन्द अधिकारी (मकवानपुर), मिङ्माछेकी शेर्पा (दोलखा) र सन्देश सापकोटा (सिन्धुपाल्चोक) छन् । 


कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, जनताका पीर र समस्या परिचित जनप्रतिनिधि र तिनको लक्ष्यमा साथ दिने कर्मचारी संयन्त्रले लोकतन्त्रलाई बलियो बनाउने बताइन् । 

 

बागमती प्रदेशले पूर्णता पाएपछि पहिलो बैठक सम्पन्न भएको छ । बैंक खाता सञ्चालन गर्ने, प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई उमेरको हद लगाई फाराम भर्नबाट वञ्चित गरेकामा कानुनी उपचारमा जाने निर्णय गरेको छ । 

 

यसैगरी स्थानीय तहमा अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीको स्थायित्व सुनिश्चित गराउने पहल गर्ने निर्णय भएको छ । युनियनले आउँदो १७ र १८ वैशाखमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय गरेको छ ।