close

गुल्मीमा करिब १९ हजार जेष्ठ नागरिकले खोप लगाउँदै

गुल्मीमा करिब १९ हजार जेष्ठ नागरिकले खोप लगाउँदै

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीमा ६५ वर्षमाथिका १८ हजार ८ सय ८३ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । गुल्मीमा २३ फागुनदेखि ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ ।

 

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानी शर्माले जानकारी दिए । अहिले स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सञ्चालन हुने भएकाले सबैलाई समन्वय गरिदिन उनको आग्रह छ ।

 

जिल्लाका १२ वटा स्थानीय तहमा २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जिल्लामा मागअनुसार खोप नआएकाले पहिलो चरणमा ८ र दोस्रो चरणमा ४ स्थानीय तहमा खोप लगाइनेछ ।

 

पहिलो चरणमा जिल्लाका सत्यवती, कालीगण्डकी, चन्द्रकोट, मुसीकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

 

त्यस्तै, रेसुंगा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, छत्रकोट र रुरुक्षेत्र गाउँपालिकामा दोस्रो चरणमा खोप लगाइनेछ । जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाइनेछ । यसअघि गुल्मी अस्पतालबाट मात्रै खोप प्रदान गरिएको थियो । 

 

अहिले ११ हजार ८ सय ५० डोज कोरोनाविरुद्धको खोप आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । अहिले अघिल्लो चरणमा छुट भएकाहरूले पनि खोप लगाउन पाउनेछन् ।

 

स्वास्थ्य कार्यालय गुल्मीका भ्याक्टर कन्ट्रोल अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार चन्द्रकोट गाउँपालिकामा १४ सय ४, धुर्कोटमा १६ सय ३७, इस्मामा १४ सय २५, कालीगण्डकीमा १४ सय ४८, मदानेमा १२ सय ७०, मालिकामा १३ सय ६०, सत्यवतिमा १८ सय ३३ र मुसीकोट नगरपालिकामा २ हजार ५४ गरेर पहिलो चरणमा १२ हजार ४ सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाउनेछन् ।

 

त्यस्तै, दोस्रो चरणमा छत्रकोट गाउँपालिकामा १५ सय ५८, गुल्मी दरबारमा १५ सय ७, रुरुक्षेत्रमा १४ सय ८२ र रेसुंगा नगरपालिकामा १९ सय ५ जना ज्येष्ठ नागरिकलाई खोप दिइने भट्टराईले बताए । 

 

प्रत्येक स्थानीय तहका स्वास्थ्य संस्थामा स्वास्थ्य व्यवस्थापनका लागि डाक्टर व्यवस्था गरिएको छ । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा ९२.७ र दोस्रो चरणमा ९४.५ प्रतिशतले खोप लगाएका थिए । 

 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अबको अभियानमा शतप्रतिशतलाई खोप लगाउन सबैको प्रयत्न आवश्यक रहेको बताइन् । अहिले गाउँ–गाउँमा खोप अभियान सञ्चालन भएकाले नागरिकमा खोपप्रति देखिएको भम्र अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।