close

दरबारको प्राण भर्दै कमलामाई (भिडियो खबर)

दरबारको प्राण भर्दै कमलामाई (भिडियो खबर)

ADVERTISEMENT

दरबारको प्राण भर्दै कमलामाई (भिडियो खबर)

एनबी अधिकारी
सिन्धुली– कुनै समय सिन्धुलीगढी दरबार पुनर्निर्माणको पर्खाइमा छ भन्ने धेरै समाचार सुनियो । सिन्धुली पुग्ने जोकोहीले दरबारको अवस्था देखेर दिक्क मान्ने गर्दथे । तर, अब सिन्धुलीगढीले पुनर्जीवन पाउने भएको छ ।


सिन्धुलीको कमलामाई नगरपालिकाको सहयोगमा अहिले ऐतिहासिक दरबारमा प्राण भरिन लागेको छ । यसअघि युद्ध संग्रहालय निर्माण अन्तिम चरणमा पुग्दै गर्दा र पुरानो रानी दरबारको पुनर्निर्माण सुरु भइरहँदा अब सिन्धुलीगढीले नयाँ स्वरूप परिवर्तन हुने देखिएको छ । 


स्व. कृष्णविक्रम थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा’ गीतजस्तो स्वरूपमा फर्कने भएको छ । सिन्धुलीगढीले रचेको गौरवको गाथामा आधारित रहेर बनेको गीतले अब साँच्चै नै गीतको शब्दजस्तै गरी पुनः ठडिने भएको छ । अब सिन्धुलीगढी घुम्न आउनेले मन फुकाएर घुम्न पाउने छन् । यहाँको प्राचीन दरबारको समेत प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।

 

पुरातात्त्विक अस्तित्व नमासिने गरी अहिले दरबारको पुनर्निर्माण सुरु भएको छ । दरबारका पुराना संरचनाको उत्खनन गर्ने काम भइरहेको छ भने दरबार अबको १६ महिनामा निर्माण सम्पन्न हुने कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले बताए ।

 

१८२४ मा सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धका क्रममा प्रयोग भएका घरेलु हातहतियार र युद्धसँग सिन्धुलीगढीको चिनारी दिने युद्ध संग्रहालय पनि निर्माणको अन्तिम अवस्थामा छ । वीर पुर्खाले आधुनिक हात हतियार लिएर आएका अंग्रेज फौजलाई हराउन प्रयोग भएका घरेलु हातहतियार राखिनेछ । युद्ध संग्रहालय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेकाले समयमै निर्माण सम्पन्न गर्ने र आर्थिक अभाव हुन नदिइने राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले जानकारी दिए ।

 

सिन्धुलीगढी घुम्न जानेहरू पनि अहिले पुनर्निर्माण सुरु भएको देखेर दंग पर्न थालेको काभ्रेका आन्तरिक पर्यटक भीमप्रसाद घिमिरे सुनाउँछन् ।

 

ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण गरिएका पर्यटन पूर्वाधारमा गरेको लगानीले देश तथा विदेशबाट आउने दर्शकलाई लोभ्याइरहेको छ । पार्क निर्माण गरिएको छ भने पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक निर्माण गरिएको छ । विजयको इतिहास रचेको सिन्धुलीगढीमा ठुलोगढी, सानोगढी, दरबार लगाएतका संरचना घुम्न आउनेका लागि विस्तारै आकर्षक बन्दै गएको नगर प्रहरीका गढी इन्चार्ज इन्द्र गौतमले बताए ।

 

दरबारको पुनर्निर्माणका लागि ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँ लागत हुने गरी ठेक्का स्वीकृत भएको छ । बागमती प्रदेश सरकार पर्यटन विकास आयोजनामा निर्माण हुने दरबारको पुनर्निर्माणको जिम्मा तुल्सी÷एरिसा जेभी भक्तपुरले पाएको छ । कम्पनीले रानी दरबारको पुनर्निर्माणको काम १६ जेठ २०७९ सम्म गरिसक्नुपर्नेछ ।