close

तावा खोलाकाे पक्की पुल :म्याद नाघेकै १६ महिना पुग्यो, पिलर ठड्याएर अलपत्र छाडियो

तावा खोलाकाे पक्की पुल :म्याद नाघेकै १६ महिना पुग्यो, पिलर ठड्याएर अलपत्र छाडियो

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले तावा खोला पक्की पुलको काम तत्काल सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका छन् । 


गाउँपालिका अध्यक्ष राईले महिनौंदेखि ठप्प रहेको साकेला गाउँपालिकाको वडा नम्बर ५ मात्तिम र दिप्रुङ चुइचुम्माको वडा नम्बर ७ टेम्मा जोड्ने मोटरेबल पुलको काम तत्काल सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका हुन् ।


१८ महिनाभित्र पूरा गर्ने गरी २१ वैशाख २०७५ मा सम्झौता गरिएको ५० मिटर लम्बाइको पुलको काममा ढिलासुस्ती भएपछि गाउँपालिका अध्यक्ष राईले चासो देखाएका हुन् ।


गाउँपालिका अध्यक्ष राईले नेसनल महावीर सिद्धिसाई जेभी पुरानो बानेश्वर, काठमाडौंका प्रतिनिधि कर्ण खत्रीलाई निर्माण स्थलमै बोलाएर पुलको अवरुद्ध काम सुचारु गर्न निर्देशन दिएको बताए । 


‘पुल निर्माणमा जता हे¥यो भताभुंग र ढिलासुस्ती मात्र देखिन्छ । शरीर तातेर सीमा नाघ्न खोजे पनि सम्हालिन बाध्य छु,’ गाउँपालिका अध्यक्ष राईले फेसबुकमा लेखेका छन्, ‘निर्माण व्यवसायी कर्ण खत्रीलाई निर्माण स्थलमा बोलाएर स्थगित पुल तत्काल थाल्न र समयसीमाभित्र निर्माण गर्न निर्देशन दिएको छु ।’ 


स्थानीय पूर्वाधार विभाग (डोली) को ४ करोड ५१ लाख ३५ हजार रुपैयाँमा पूरा गर्ने गरी पुलको काम नेसनल महावीर सिद्धिसाई जेभीले लिएको हो । पुल निर्माणका लागि निर्माण कम्पनीले ३१ असार २०७५ मा ४० लाख रुपैयाँ पेस्की लिइसकेको छ ।


तर, २०७६ कात्तिकमा सम्पन्न हुनुपर्ने पुलको म्याद नाघेको १ वर्ष ६ महिना बितिसकेको छ । हालसम्म खोलाको किनारमा पुलको पिलर उठाउने काम मात्र भएको छ । ४ फागुनमा निर्माण स्थलमै बोलाइएका निर्माण व्यवसायी खत्रीले आगामी जेठसम्म पुलको काम पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्लाकै विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पुल निर्माण सुस्त देखिएको गाउँपालिकाका अध्यक्ष राईले
बताए ।


निर्माण कम्पनीले सम्झौता म्याद गुज्रेको वर्ष दिनपछि पुलको जग खन्नेलगायतका सामान्य काम थालेको थियो । दिक्तेल–खोटाङ बजार सडक खण्डमा पर्ने तावा खोला पुल निर्माणका लागि ठेक्का लागेको वर्ष दिन ढिला गरेर निर्माण कम्पनी र तत्कालीन जिल्ला प्राविधिक कार्यालयबीच सम्झौता गरिएको थियो । पुलको सम्झौतामा ढिलाइ र त्यसमाथि निर्माणकै काममा ढिलासुस्ती देखिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।


३ तहको सरकार कार्यान्वयनमा आउनुअघि साविकको प्राविधिक कार्यालयमार्फत बजेट आए पनि सो कार्यालय खारेज भएपछि हाल प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरबाट बजेट परिचालनको व्यवस्था मिलाइएको छ ।


तावा खोलामा पुल नहुँदा ४ वैशाख २०७५ मा खोलामा आएको बाढीले पञ्चमी बजारबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा २ ख ४८९६ नम्बरको बस बगाएको थियो । 


बाढीले पुलको डिजाइनै परिवर्तन 


मात्तिम–टेम्मा जोड्ने तावा खोला पुलको डिजाइन दोस्रो पटक फेरिएको हो । सुरुमा २५ मिटरको पक्की पुल निर्माणका लागि डिजाइन गरिए पनि काम सुरु नहुँदै १९ असार २०७२ मा आएको बाढीले खोलाको चौडाइ बढाएपछि पुलको डिजाइन परिवर्तन गरिएको हो ।


सो बाढीले सडकको झन्डै १ सय १० मिटर खण्ड बगाएको थियो भने खोलामा ठूला–ठूला ढुंगा थुप्रिएका कारण लामो समयसम्म सवारी साधन आउजाउ ठप्प भएको थियो ।