close

फुङ्लिङमा मेयर कप ब्याडमिन्टन 

फुङ्लिङमा मेयर कप ब्याडमिन्टन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङमा शनिबारबाट मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ब्याडमिन्टन संघको १५औँ वार्षिकोत्सव अवसर पारेर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।


प्रतियोगिता उद्घाटन फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले गरे । कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल र फुङ्लिङ नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष भीमादेवी ओझासहितले प्रतियोगिता सफलताको शुभकामना दिए ।


फुङ्लिङ नगरपालिकाको वडा नम्बर ६ स्थित इन्द्रेणी ब्याडमिन्टन हलमा सञ्चालन गरिएको प्रतियोगितामा ६ वटा विधामा खेल भइरहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए ।


संघका उपाध्यक्ष सुरेश सिघंकका अनुसार पुरुष सिनियर डबल ‘ए’ तर्फका विजेताले नगद ३० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, पुरुष सिनियर डबल ‘बी’ तर्फका विजेताले नगद २५ हजार र उपविजेताले नगद २० हजार रुपैयाँ पाउनेछन् ।


पुरुष सिनियर डबल ‘सी’ तर्फका विजेताले २० हजार र उपविजेतालाई १५ हजार रुपैयाँ पुरस्कारस्वरूप उपलब्ध गराइनेछन् । महिला र पुरुषतर्फ अन्डर १२ र अन्डर १५ एकल ब्याडमिन्टन प्रतियोगिताका विजेताले जनही क्रमशः १० हजार र ८ हजार तथा पालिका स्तरीय खुला कर्मचारीतर्फका विजेताले
नगद २० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउने जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । 


खेललाई ८ वटै गाउँपालिका तथा फुङ्लिङ नगरपालिकाभित्रका सबै वडा, संघ–संस्था एवं दाताहरूको सहयोग रहेको छ । कार्यक्रममा फुङ्लिङ नगरप्रमुख प्याकुरेलले आगामी वर्षदेखि तेक्वादो तथा कराँतेसहितका खेल प्रतियोगिता सञ्चालन गरिने बताए ।