close

हाब्रे पढ्दै छन् कालीकोटका विद्यार्थी

हाब्रे पढ्दै छन् कालीकोटका विद्यार्थी

Trulli
ADVERTISEMENT

कालीकोट- लोपोन्मुख अवस्थाको दुर्लभ रातो हाब्रे (पान्डा) संरक्षणका लागि रेडपान्डा नेटवर्कले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।


हाब्रे संरक्षणमा क्रियाशील नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विद्यालयमा अध्ययन-अध्यापन गराउँदै आएको हो । 


हाब्रे पाइने कालीकोटको पचालझरना, तिलागुफा, शुभकालिका र महावै गाउँपालिकामा यसको वासस्थान छ । यसको संरक्षणका लागि शुभकालिका गाउँपालिका वडा नम्बर ६ स्थित चन्द्रसूर्य माध्यमिक विद्यालयमा पठनपाठन सुरु गरिएको पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका जिल्ला प्रतिनिधि दिनेश घलेले जानकारी दिए ।

 

उनका अनुसार सोही विद्यालयको कक्षा ६ र ७ मा यो विषयको पठनपाठन सुरु गरिएको हो । विद्यालय स्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको घलेले जानकारी दिए ।

 

हाबे्र पाइने ४ वटै स्थानीय तहको वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठ्यक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।


विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।


कक्षा ७ को पुस्तकमा पश्चिमी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षक रहेका छन् । 

 

ती विद्यालयमा बालक्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि प्रभावकारी नभएपछि स्थानीय स्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको जिल्ला प्रतिनिधि घलेले जानकारी दिए ।

 

उनले भने, ‘पान्डाको संरक्षण यतिले मात्र नहुने देखिएपछि कालीकोटका ४ वटै स्थानिय तहमा एउटा वनमा १ जना हेरालु राखेर काम गरिरहेका छौँ ।’

 

२०१८ बाट कालीकोटमा लागू भएको यो परियोजनाले हाबे्र पाइने क्षेत्र, यसको संरक्षणका उपायबारे तथ्याक संकलन गरिएको थियो । 
 
हाब्रेको संख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तरको वन विनास, निगालो र बाँसजन्य जंगल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी-सिकारी, डढेलोलगायत कारण हाब्रेका लागि चुनौती रहेको जिल्ला वन कालीकोटका वन अधिकृत जितेन्द महतले बताए । 

 

हाब्रेको सिकार निषेधित भए पनि तस्करले यसको लुकीछिपी सिकार गर्दै आएका छन् । हाब्रेको रौँ र यसको रोमाञ्चक पुच्छर मूल्यवान मानिन्छ । नेपालले हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।