close

दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना 

दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराका २ युवा व्यवसायी भोजराज भट्ट र पदम भण्डारी । केही महिना अगाडि मात्रै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा व्यवसाय गर्ने योजना बुने । 

 

योजनाअनुसार नै भट्ट र भण्डारीले ८ करोड रुपैयाँ लगानीमा धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा ल्याउने तयारी सुरु गरे ।

 

८ करोड रुपैयाँमा धनगढीमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा ल्याउन लागेका दुवैको सपना एकाएक हावासरी उडेको छ । 

 

नयाँ सोच र जाँगरसहित केही गरौँ भनेर धनगढीमा सञ्चालनमा आउनै लागेको आलोक मल्टी कन्सर्न उद्योगमा शनिबार एकाएक आगलागी भएको छ । धनगढीबाटै सुदूरका कुना-कुनालगायत देश-विदेशमा आफ्नो उत्पादन पुर्‍याउने उनीहरूको सपना छिनभरमै धुवाँ र खरानीसँगै तुहिएको छ । 


देशमा रोजगारी छैन भनेर विदेश गइरहेका युवालाई केही मात्रामा स्वदेशमै रोक्ने र आफ्नै ठाउँमा केही गर्न सकिन्छ भनेर देखाउने सपना धुवाँसँगै विलीन भएको छ । फागुनमै उद्घाटन गर्ने तयारीमा रहेको उद्योग शनिबार एकाएक खरानी बनेको छ । कल्पनाविहीन घटनाले उनीहरूलाई चिन्तित तुल्याएको छ । 

 

सो उद्योगमा शनिबार बिहानसम्म ‘ओपनिङ सुन’ लेखिएको थियो । हाउस डेकुरेसनसँगसँगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्देश्य बोकेका थिए, भट्ट र भण्डारीले । 

 

उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न शनिबार दिउँसो करिब १२ बजे अचानक भएको आगलागीले नष्ट भएको हो । भट्ट र भण्डारीले सञ्चालनमा ल्याउन लागेको सोरुमसहितको उद्योगमा आगलागी भएको आफन्त विमल बोहराले बताए ।

 

उनका अनुसार सो उद्योगलाई फागुनभित्रै उद्घाटनको तयारी थालिएको थियो । तर, तयारीकै क्रममा भएको आगलागीले नष्ट भएको छ । उद्योग अगाडिको भागमा सोरुम र पछाडिको भागमा उद्योग बनाइएको थियो । 

 

उद्योगमा हालसम्म २०/२२ जना कामदार कार्यरत थिए । उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

आगलागी झन्डै २ घन्टापछि नियन्त्रणमा आएको थियो । घटनास्थलमा लगभग १ घन्टापछि मात्रै दमकल पुगेको स्थानीय बताउँछन् । आगलागी भएको स्थानमा आएका गोदावरी नगरपालिका र धनगढी उपमहानगरका दमकलमध्ये धनगढीको दमकलमा पानीसमेत नभएको स्थानीयको भनाइ छ । 

 

धनगढी उपमहानगर, गोदावरी नगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

 

आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । आगलागीबाट ८ करोड रुपैयाँको क्षति भएको उनको भनाइ छ ।