close

सुन्दरहरैचा उद्योग वाणिज्य संघमा नेकपा फुटको असर 

सुन्दरहरैचा उद्योग वाणिज्य संघमा नेकपा फुटको असर 

Trulli
ADVERTISEMENT

मोरङ- नेकपा कम्युनिस्ट पार्टी (नेकपा) फुटको प्रत्यक्ष असर सुन्दरहरैचा उद्योग वाणिज्य संघमा पनि परेको छ । नेकपा फुटको फाइदा उठाउँदै नेतृत्व कांग्रेस समर्थित उद्योगीको हातमा पुगेको हो ।

 

शनिबार भएको निर्वाचनमा कांग्रेस निकटका व्यवसायी कृष्णप्रसाद रिजाल विजयी भएका छन । सग्लो नेकपा निकट व्यापारीको वर्चस्व रहेको नगरपालिकामा उनीहरू फुटेपछि कांग्रेसले जित हासिल गरेको हो ।

 

शनिबार राती सकिएको मतगणनामा रिजालले ३ सय ६२ मत प्राप्त गरे भने नेकपाका प्रत्यासी टीकाप्रसाद कट्टेलले ३ सय ३६ मत प्राप्त गरे ।

 

प्रथम उपाध्यक्षमा रिजाल समूहकै दुर्गाकुमार श्रेष्ठ ३ सय ९९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी ज्ञानुप्रसाद ढकालले ३ सय २३ मत मात्रै प्राप्त गरे । 

 

द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ३ सय ९४ मत ल्याएर विजयी भए । तिम्सिना कट्टेल समूहका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द अधिकारीले ३ सय १६ मत मात्रै प्राप्त गरे । 

 

महासचिवमा ३ सय ७२ मत पाएर नारायण कार्की विजयी बने । कार्कीसँग कट्टेल समूहका सन्तोष वान्तवाले ३ सय ४२ मत मात्र प्राप्त गरे । वाणिज्य सचिवमा ३ सय ६६ मत प्राप्त गर्दै उज्ज्वल थापा विजयी भए ।

 

कट्टेल समूहका रामकृष्ण खड्काले ३ सय ४२ मत मात्रै प्राप्त गरे । उद्योग सचिवमा कट्टेल समूहका हरि कार्कीले ४ सय ५ मत प्राप्त गर्दै विजयी भए भने रिजाल समूहका अर्जुन गजुरेलले ३ सय ९ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा शारदाप्रसाद ढकाल ३ सय ६८ मत प्राप्त गर्दै विजयी भए भने कट्टेल समूहका डिल्लीप्रसाद ढकालले ३ सय ३६ मत मात्रै प्राप्त गरे । सदस्यहरूमा भने कट्टेल समूहको वर्चस्व रहेको छ । 

 

नेकपा फुटको असर 

 

चुनावी मैदानमा जाँदा नेकपा एक भए पनि पार्टी फुटको असर परेको व्यवसायी बताउँछन् । वाणिज्य संघमा ८ सय ४८ जना व्यापारी आबद्ध भएकामा ७ सय ६५ मत मात्रै खसेको थियो ।

 

एकले अर्को समूहलाई असहयोग गर्दा मुख्य पद गुमेको नेकपा निकट दुवै समूहका व्यवसायीको भनाइ छ । 

 

सहकारीको खर्चमा चुनाव लड्दै अध्यक्ष 

 

जनताले खाई-नखाई जम्मा गरेको पैसाबाट एक सहकारीका अध्यक्ष चुनावी मैदानमा उत्रिए । निहारीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गीताबहादुर सोडारी उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएका हुन् । 

पानीको बोतलमा आफ्नो र सहकारीको नाम राखेर प्रचार गर्दै सोडारी चुनावी मैदानमा होमिएका थिए ।

 

चुनावमा जानेलाई मासु-चिउरा 

 

शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । मतदानमा जानेका लागि छुट्टाछुट्टै स्थानमा खाने व्यवस्था थियो । उम्मेदवारहरूले व्यापारी तथा आफ्ना समर्थकलाई खाजाको पनि व्यवस्था गरेका थिए ।

 

चना-चिउरादेखि मासु-चिउरासम्म खाने व्यवस्था गरिएको थियो । प्रचारका लागि भेस्ट तथा टोपीसमेत समर्थकलाई उम्मेदवारहरूले उपलब्ध गराए ।