close

सिदिङ्वाका शिक्षकलाई पालिकाभित्रै दरबन्दी मिलानको अवसर

सिदिङ्वाका शिक्षकलाई पालिकाभित्रै दरबन्दी मिलानको अवसर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका प्राथमिक तहका शिक्षकलाई अर्को विद्यालयमा दरबन्दी मिलान भई जान इच्छुक भए निवेदन पेस गर्न आह्वान गरेको छ । 

 

सिदिङ्वाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ठाकुरका अनुसार दरबन्दी कटौती हुने विद्यालयबाट दरबन्दी थप हुने विद्यालयमा मिलान भई जान इच्छुकले पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्नेछ । 

 

ठाकुरका अनुसार पालिकाका १० वटा विद्यालयबाट १-१ जनाका दरले दरबन्दी कटौती हुनेछ भने अन्य ८ वटा विद्यालयमा १२ जनाको दरबन्दी थप हुने अवस्था छ ।

 

सिदिङ्वा आधारभूत विद्यालय कालीखोला, लिम्बूदिनका देउराली आधारभूत विद्यालय, यमुना आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र अम्बिका आधारभूत विद्यालय, मेहेलेका गंगा आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, नवज्योति आधारभूत विद्यालय र खुवा आधारभूत विद्यालय तथा आङ्खोपको जलेश्वरी आधारभूत विद्यालयबाट १-१ वटाका दरले १० वटा दरबन्दी कटौती हुनेछ ।

 

यस्तै, जनता आधारभूत विद्यालय सादेवा, राधिका आधारभूत विद्यालय साब्लाखु, सिंहदेवी आधारभूत विद्यालय मेहेले, बुरुम्खिम आधारभूत विद्यालय र बालकल्याण मावि सुरुम्खिममा १–१ जनाका दरले दरबन्दी थप हुनेछ ।

 

सरस्वती आधारभूत विद्यालय साब्लाखुमा ३ वटा तथा आङ्खोपका क्रमशः सिंहेश्वरी मावि र आङ्गेपा माविमा २-२ जनाको दरले दरबन्दी थप हुने भएको छ । 

 

कटौती भई मिलान हुन जाने योग्यता क्रमअनुसारका शिक्षकले पालिकाभित्रकै नजिकको र पायक पर्ने विद्यालयमा दरबन्दी मिलान गर्न दिएको आवेदनअनुसार प्रक्रिया अघि बढाउनेसमेत ठाकुरले जानकारी दिए ।