close

चन्दनाथ स्मार्ट सिटीको कल्पनामा रमाउँदै, फोहोरले भने योजना गिज्याउँदै

चन्दनाथ स्मार्ट सिटीको कल्पनामा रमाउँदै, फोहोरले भने योजना गिज्याउँदै

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको फोहोर युवाहरूले उठाएका छन् । हप्ताँैदेखि चन्दननाथ नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धित बन्दै गएपछि खलंगा बजारको फोहोर युवाहरूले उठाएका हुन् । 


सफाइ अभियानकर्मी धनराज सुनारका अनुसार युवा, सुरक्षाकर्मी तथा व्यापारीको सहभागितामा साता दिनदेखि थन्किएको फोहोर शनिबार बिहान उठाइएको हो । साता दिनदेखि बजारका कुना-कुनामा फोहोर थुप्रिँदासम्म नगरपालिका मुकदर्शक तन्नेरीहरू सुनाउँछन् ।

 

फोहोर व्यवस्थालाई पहिलो प्राथमिकता दिएको चन्दनाथ नगरपालिकाले उपयुक्त डम्पिङ साइट व्यवस्थापन गर्न नसक्दा पटक-पटक बजारका कुना-कुनामा थन्किने गरेको छ ।

 

युवा अगुवा सुनारले भने, ‘शिक्षा, स्वास्थ्य र सरसफाइको ग्यारेन्टी गर्न सिंहदरबार गाउँ पुग्ने सोचेका थियौँ । तर, नगरभित्रको फोहोर हप्तौँसम्म उठ्दैन । नगर सुन्दरको नारा एकातिर, काम अर्कैतिर भएपछि बजार फोहोर बन्दै गएको हो ।’

 

जुम्ला विमानस्थल जाने सडकदेखि सुरु गरिएको सरसफाइ कालेखोली चोक हँुदै बसपार्क जाने सडक र जुम्ला बजारको चन्दननाथ भैरवनाथ मन्दिरको आसपास सफा गरिएको हो । 

 

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र अर्थात् सुर्खेतपछिको दोस्रो ठूलो सहर खलंगालाई सफा-सुन्दर बनाउन पटक-पटक नगरपालिका चुक्दै गएको छ । युवाहरू स्वयं सडकमा सरसफाइका लागि उत्रिन बाध्य छन् ।

 

युवालाई स्थानीय व्यापारी र व्यवसायीले समेत साथ दिए । १ सातासम्म न फोहोर उठाउन नगरपालिकाको गाडी आइपुग्यो, न त फोहोर व्यवस्थापनमा नगरपालिकाको चासो नै गयो’, युवा व्यवसायी चन्द्रलाल सुनारले भने ।

 

उनका अनुसार फोहोर उठाउन नगरपालिकालाई कर तिरिए पनि त्यसको सदुपयोग हुन सकेन । व्यापार गरेर निस्केको फोहोर बजारमा थन्किँदा बजार दुर्गन्धित भइरहने गरेको उद्योग वाणिज्य संघका सचिव मेगराज गिरी बताउँछन् ।

 

बजारको फोहोर व्यवस्था हुन नसक्दा जनताको मन रिजाउनकै लागि मात्र स्मार्ट सिटी बनाउने योजना अघि सारिएको नागरिक अगुवा बताउँछन् ।

 

यसअघि चाडपर्व, दिवस अवसरमा स्थानीय प्रशासन, सेना, प्रहरी र कर्मचारीले बजार सफा गर्ने गरेका छन् । संकलित फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड नहुँदा नगरपालिका संकटमा छ ।

 

डम्पिङ साइट व्यवस्थापनका लागि पहल भइरहेको नगरपालिकाले बताउँदै आएको छ । व्यवस्थापन कहिल्यै गर्दैन ।