close

नदी तथा खोलाजन्य खानी सञ्चालन गर्न बराहपोखरीको टेन्डर आह्वान 

नदी तथा खोलाजन्य खानी सञ्चालन गर्न बराहपोखरीको टेन्डर आह्वान 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिकाले ढुंगा, गिटी र बालुवा संकलन एवं बिक्री वितरणका लागि ठेक्का आह्वान गरेको छ । स्थानीय खोला तथा सुनकोसी किनारमा रहेका ढुंगा, गिटी र बालुवालाई व्यवस्थित तरिकाले संकलन एवं निकासी गर्दै राजस्व संकलनका लागि गाउँपालिकाले ठेक्का आह्वान गरेको हो । 

 

गाउँपालिकाले ढुंगा, गिटी र बालुवा बिक्री कर संकलन गर्न गत ६ फागुनमा ठेक्काको बन्दोबस्तसम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । बुवाँ खोला, लपुवा खोला, वार्ताङ खोला, सुनकोसीको वंशिलाघाट, कम्फुघाट र धाप्लाङघाटबाट ढुंगा, गिटी र बालुवा संकलन एवं बिक्री वितरणका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । 

 

यस्तै, वालिनटार ढुंगा खानीबाट ढुंगा निकासीका लागि टेन्डर खुलाइएको छ । खोला, नदी, नालाबाट स्थानीय तह निकासी शुल्क संकलनसम्बन्धी ठेक्का बन्दोबस्तीका लागि गाउँपालिकाले २५ वटा सर्तसहितको सूचना जारी गर्दै इच्छुक फर्म वा कम्पनीलाई दरभाउपत्र पेस गर्न आह्वान गरेको हो ।

 

गिटी, ढुंगा र बालुवाबाट प्रतिघनमिटर २ सय ११ रुपैयाँ ८६ पैसाका दरले निकासी शुल्क लिन पाइने गाउँपालिका अध्यक्ष बञ्जराले सुनाए । बुवाँ खोला र सुनकोसीको वंशिलाघाटबाट ८ हजार ६ सय ९७ घनमिटर ढुंगा, गिटी र बालुवा निकाल्न १७ लाख १८ हजार ८४ रुपैयाँ न्यूनतम ठेक्का रकम तोकिएको छ । 

 

यस्तै, सुनकोसीको कम्फुघाट, धाप्लाङघाट र लपुवा खोलाबाट ८ हजार ५ सय १९ घनमिटर ढुंगा, गिटी र बालुवा संकलनका लागि न्यूनतम ठेक्का रकम १६ लाख ६९ हजार ३७८ रुपैयाँ तोकिएको छ । 

 

बालिनटार ढुंगा खानी र वार्ताङबाट ७ हजार ७ सय ३९ घनमिटर ढुंगा, गिटी र बालुवा निकाल्न १६ लाख ९ हजार ९ सय ६० रुपैयाँ ठेक्का रकम निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम बराहपोखरीले आइईईको प्रतिवेदनअनुसार ढुंगा, गिटी, बालुवाको निकासी संकलनका लागि प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७ को दफाको अनुसूची ५ अनुसार ठेक्का बन्दोबस्तको सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो । दरभाउपत्र सूचना प्रकाशन भएको मितिले १६ औँ दिनको १२ बजेभित्र पेस गर्नुपर्नेछ ।