close

रेसुंगा विमानस्थल: डेढ दशकदेखिको बनेको बन्यै

रेसुंगा विमानस्थल: डेढ दशकदेखिको बनेको बन्यै

Trulli
ADVERTISEMENT

गुल्मी- डेढ दशकदेखिको जहाज चढ्ने गुल्मेलीको सपना अझै पूरा भएको छैन । रेसुंगा विमानस्थल २०६३ मा तत्कालीन पर्यटन र हालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।

 

जग्गा अधिकरण र बजेट अभावले करिब ८ वर्ष विमानस्थल निर्माणले गति लिएन । २०७२ बाट विमानस्थल निर्माण नियमित भइरहेको छ । यसले गर्दा केही आशा पलाएको स्थानीय हरि घिमिरे बताउँछन् ।

 

‘शिलान्यास भएर लामो समय काम नहुँदा मरेको आश पलाएको छ,’ उनले भने, ‘अहिले सबै काम रफ्तारमा भएको देखेका छौँ ।’


विमानस्थलमा अन्तिम चरणका काम भइरहेका छन् । सोहीअनुसार विमानस्थलको महत्त्वपूर्ण संरचना टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम ा अगाडि बढेको हो ।

 

टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको छ ।

 

४ चैत २०७६ मा सम्झौता भएको भवन र टावरको काम २०७८ असोज मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनी अहिले टर्मिनल भवनको पहिलो तल्ला ढलान गर्ने तयारीमा छ । 


त्यस्तै, अर्को महत्त्वपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । धावन मार्ग ५ सय २० लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले अहिले धावन मार्ग कालेपत्रेका लागि सबबेस बिछ्याउने काम गरिरहेको छ । 

 

अझै बेस र कालोपत्रे गरेर २ चरणको काम बाँकी छ । रौताह हरिहरी जेभीले धावन मार्ग कालोपत्रेको लागि २०७६ मा ७ करोड २५ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । 

 

कम्पनीले गत कात्तिकसम्म काम सक्नुपर्ने थियो । तर, कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायीको ढिलासुस्तीका कारण समयमै काम भएन ।

 

अहिले पुनः साढे ७ महिना ठेक्का म्याद पाएकाले काम धमाधम भएको छ । अब धावन मार्गसहितका सबै काम तोकिएकै समयमा सम्पन्न हुनेमा आयोजना कार्यालय विश्वस्त रहेको आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले बताए । 

 

‘महत्त्वपूर्ण काममध्येकै तारजाली सकियो । धावनमार्ग, टर्मिनल र कन्ट्रोल टावरको काम निरन्तर भएका छन्,’ उनले भने, ‘बीचमा केही समस्या भए पनि अहिले काममा निरन्तर छ ।’

 

१ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणदेखि कटिङ, फिलिङ, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावन मार्ग, टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्म करिब ३५ करोड रुपैयाँ खर्च हुनेछ ।

 

विमानस्थल निर्माणको अर्को महत्त्वपूर्ण घेराबारको काम सकिएको छ । मौसम हरिस निर्माण सेवा डोल्पाले १६ पुस २०७६ मा ९१ लाख रुपैयाँमा घेराबारको काम सम्झौता अवधिमै सम्पन्न गरेको छ । 

 

पछिल्लो समय ज्ञवालीले पनि विमानस्थल निर्माणमा बिशेष चासो दिएका छन् भने काम रेसुंगा नगरपालिकाकाले पनि निरन्तर अनुगमन गरिरहेको छ । रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले आफ्नो कार्यकालभित्रै नियमित उडान हुने विश्वास व्यक्त गरे ।

 

‘माननीयहरूसँगै मैले पनि विमानस्थलको काम छिटो सक्न दौडधुप गरिरहेको छु,’ उनले भने, ‘अहिले काम सन्तोषजनक भएकाले मेरै कार्यकालमा नियमित उडान हुन्छ ।’

 

रेसुंगा विमानस्थलमा २५ जेठ २०७५ जेठ मा तारा एयरको विमानले कच्ची उडान गरिसकेको छ । यो विमानस्थल गुल्मेली मात्र नभएर अर्घाखाँची, प्युठान र बाग्लुङका नागरिकको भाग्य र भविष्य हो । 

 

शिलान्यास गरेको डेढ दशकपछि भए पनि नियमित उडानको प्रतीक्षामा नागरिक छन् । विभिन्न कारणले अलपत्र विमानस्थलको कामले पछिल्लो समय गति लिएको देखेर नागरिकमा पलाएको नयाँ आशा र खुसी मर्न नदिन सबै पक्षले चासो दिनुपर्ने देखिन्छ ।

 

रेसुंगा नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष पदम अर्यालले रेसुंगा विमानस्थलबाट देशका विभिन्न ठाउँमा जहाज चढेर पुग्ने गुल्मेलीको चाहना केही समयमै पूरा हुने बताउँछन् ।