close

आर्थिक विकासको योजना बुन्दै स्थानीय सरकार

आर्थिक विकासको योजना बुन्दै स्थानीय सरकार

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको सिद्धार्थ राजमार्ग आर्थिक करिडोरसँग जोडिएका पालिकाहरूले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।

 

वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक करिडोरको सचिवालयको सहकार्यमा वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक करिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र कार्यान्वयनमा लैजाने सहमति भएको हो ।

 

सुनौलीदेखि पोखरासम्म सिद्धार्थ राजमार्गसँग जोडिएका १५ वटा पालिका, ४ वटा जिल्ला र २ वटा प्रदेशबीचमा समन्वय र सहकार्य गर्दै योजना पहिचान गर्ने, प्राप्त योजनाको प्राथमिकीकरणका आधारमा योजना निर्माणपछि कार्यान्वयन गर्ने मुख्य उद्देश्य रहेको तानसेन नगरपालिकाका प्रमुख एवं सिद्धार्थ राजमार्ग आर्थिक करिडोर मञ्चका अध्यक्ष अशोककुमार शाहीले बताए ।


शाहीले सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाका सम्भावनाको खोजी गरी आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । आर्थिक करिडोरसँग जोडिएका नगरपालिका र गाउँपालिकाबीचका असल अभ्यासको आदानप्रदान र अनुकरण गर्दै अगाडि बढ्न सहज हुने उनको भनाइ छ ।


‘योजनाको पहिचान र कार्यान्वयन गर्ने, सिद्धार्थ राजमार्गलाई आधार मानेर यस क्षेत्रमा सञ्चालन गर्न सकिने कृषि, जडीबुटी, पशुपालन, भौतिक संरचना पूर्वाधार निर्माण, पर्यटन, उद्योग, सूचना प्रविधिको पहिचान, स्वास्थ्य तथा खेलकूद, प्राकृतिक स्रोत व्यवस्थापन, प्राविधिक शिक्षाको प्रचार-प्रसार गर्न सहयोग पुग्नेछ’, प्रमुख शाहीले भने ।

 

यस क्षेत्रका नगर र गाउँपालिकाबीच समन्वयमा गर्न सकिने परियोजनाको पहिचान र छनोट, समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको प्रमुख शाहीले जानकारी दिए ।

 

पालिकाबीच निर्माण गरिएका योजनाको प्राथमिकीकरणपछि गण्डकी र लुम्बिनी प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गर्दै योजना निर्माण गरिने प्रमुख शाहीले बताए ।

 

वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले योजनाको पहिचानसहित प्राथमिकीकरणका आधारमा पालिकाबीच समन्वय र सहकार्य गर्दै विकासका गतिविधि अगाडि बढाउँदा उपयुक्त हुने धारणा राखे ।

 

भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले सिद्धार्थ राजमार्ग आर्थिक करिडोरसँग सम्बन्धित क्षेत्रका पालिकाबीच आर्थिक करिडोरको समग्र आर्थिक विकासका निम्ति परियोजना तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि छलफल तथा अन्तरक्रिया महत्त्वपूर्ण हुने बताए ।

 

योजनाविद् डा. अनिल सुवेदीले सहजीकरण गरेको कार्यक्रममा सिद्धार्थ राजमार्ग आसपासका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवालाको सहभागिता थियो ।