close

खेतीयोग्य जमिन बगरमा परिणत

खेतीयोग्य जमिन बगरमा परिणत

Trulli
ADVERTISEMENT

बाग्लुङ - ढोरपाटन नगरपालिका–७ का साकीराम विकले ९ लाख रुपैयाँ खर्चेर भुजीखोलाको किनारमा खेत किनेको केही वर्ष मात्रै भयो । आफ्नै खेतमा फलेको धानको भात खाने धोकोले जीवनको ऊर्जावान समयमा कमाएको पैसा साकीरामले खेतमा लगाए ।


केही वर्ष राम्रै धान फल्यो । हिउँदे खेतीसमेत राम्रै हुने खेतले उनको लगानी उठाउन भने पाएन । लहलह धान भएको खेत बाढीले बगरमा परिणत गरिदिएको छ ।


साकीराम त्यही बगर हेरेर चित्त बुझाउँछन् । उनको परिवारमा मानवीय क्षति नभएकाले उनकोभन्दा गहिरो घाउ मानवीय क्षति हुनेको परिवारमा छ । त्यसैले साकीराम आफ्नो क्षतिको विषयमा मुख उप्काउने बेला आइनसकेको बताउँछन् ।


उनको घरमा पसल थियो । भैंसी र बाख्रा थिए । बल्लतल्ल बनाएको घरगोठ, पशु चौपाया र खेती सबै बाढीले बगायो । ज्यान मात्रै बचेकाले अहिले ७ जना परिवारको खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।


ढोरपाटन नगरपालिका–८ का वीरबहादुर सुनुवारको ७ जनाको परिवार छ । पशुपालन र खेतीपातीकै भरमा चल्दै आएको परिवार अहिले के खानु, के लाउनुको अवस्थामा छ । उनको ढोरपाटन नगरपालिका–९ ढोरमा रहेको गोठबाहेक बाढीले सबै बगायो । समयमा सूचना पाएकाले सबै परिवारको ज्यान बचाएका सुनुवारको अहिले त्रिपालमुनिको बास छ । ‘खेतबारी, खरबारी केही छैन हजुर, न त घरगोठ नै रहे,’ सुनुवारले भने, ‘४० लाखको सम्पत्ति हुँदो हो, सबै बगर भइगयो ।’


भदौ १७ राती ११ बजे ढोरपाटन नगरपालिका–९ बोबाङको देउरालीबाट झरेको पहिरो र त्यसबाट सिर्जित बाढीका कारण २२ जनाको ज्यान गयो । १५ जना अझै बेपत्ता छन् । केही घाइते भएका छन् भने केहीले घरबास गुमाएका छन् । पहिरोका कारण भएको मानवीय क्षतिसँग अन्य क्षतिलाई दाँज्न त सकिन्न तर बाढीले ठूलो परिणाममा अन्य संरचनागत क्षतिसमेत गरेको छ ।

 

मानविय क्षतिको विवरण तयार गर्न नै समय लगाएको ढोरपाटन नगरपालिकाले बाढीपहिरोका कारण भएको खेतीयोग्य जमिन र बालीको क्षति विवरण निकाल्न भने महिनौं लाग्ने जनाएको छ । बाढीपहिरोले वितन्डा मच्चाएपछि नगर शिक्षा शाखाले शिक्षा क्षेत्रमा भएको क्षतिको विवरण तयार गर्दै छ । एक विद्यालय नै बगाएको बाढीले विद्यार्थी र अभिभावकमा पुर्‍याएको क्षतिको मूल्यांकन र तथ्यांक राख्ने काम चलिरहेको छ । 


११ जलविद्युत् आयोजना, १ स्वास्थ्य क्लिनिक र १ सय ३० वटा घरबास बगाएको तथ्यांक नगरपालिकासँग छ । तर, झन्डै १५ किलोमिटर जमिन क्षतविक्षत बनाएको बाढीले के–कति खेतीयोग्य जमिन मास्यो भनेर नगरले तथ्यांक निकाल्न भ्याएको छैन ।


बाढीले बढारेका गोठहरूमा झन्डै ३ सय पशु चौपायाको क्षति भएको अनुमान मात्रै नगरले गरेको छ । बाढी प्रभावित क्षेत्रका सर्वसाधारणको मुख्य पेसा नै कृषि र पशुपालन हो । बाढीका कारण झन्डै १ हजार ३ सय रोपनी खेतीयोग्य जमिन बगाएको नगरका उपसचिव धनप्रसाद पोखरेलले बताए । ‘तल्लो भूभागमा धान खेती थियो, माथिल्लो भूभागमा आलु र मकै मुख्यबाली हो,’ पोखरेलले भने, ‘उकेर्ने बेलाको आलु–मकै बाढीले एकै छाक बनायो ।’


नगरपालिकामा कृषि र पशु सेवा शाखामा काम गर्ने ४ जना मात्रै प्राविधिक कर्मचारी छन् । कृषि हेर्ने २ नायव प्राविधिक सहायक र २  पशुपक्षी हेर्ने नायव प्राविधिक सहायक छन् । उनीहरू सबै करारका हुन् । 


एक त करारका कर्मचारीको भरमा रहेको कृषि तथा पशु शाख, अर्कोतर्फ ठूलो भूभागमा काम गर्नुपर्ने भएकाले उनीहरूले अहिले त्यहाँको क्षतिको विवरण तयार गर्न सक्ने अवस्था नरहेको पोखरेल बताउँछन् ।


करोडौंको खेतीपाती मासिएको भए पनि तथ्यांक नै तयार नहुँदा क्षतिपूर्तिबाट वञ्चित हुनुपर्ने किसानको गुनासो छ । लेकमा बसेर बेसीमा खेतीपाती गर्ने किसानसमेत बाढीका कारण प्रभावित भएको ढोरपाटन नगरपालिका-८ का मदन विकले बताए । उनले मुख्य पेसा नै खेतीपाती गर्ने जमिनै बाढीले बगाएकाले सरकारले किसानलाई हेर्नुपर्ने बताउँछन् ।