close

गुल्जार बराहपोखरी (भिडियाे खबर)

गुल्जार बराहपोखरी (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- स्थानीय तहको निर्वाचनअघिसम्म खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ४ फाक्टाङको बाघखोरभञ्ज्याङ सुनसानजस्तै थियो । बाघखोर भञ्ज्याङमा ५ वटा घर थिए । एउटा सामान्य किराना पसल थियो । पातलो बस्ती भएकाले होटल हुने कुरै भएन ।

 

रातको समय एक्लोदोक्लो मान्छे हिँडडुल गर्न डराउँथे । तर, अहिले बाघखोरभञ्ज्याङको अवस्था फेरिएको छ । बाघखोरभञ्ज्याङ गाउँपालिकाको केन्द्र बनेसँगै बराहपोखरीको कायापलट भएको छ । 

 

२०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले खोटाङको बराहपोखरी गाउँपालिकाले बाघखोरभञ्ज्याङलाई केन्द्रका रूपमा अघि सारेपछि यो स्थानको स्वरूप फेरिँदै गएको छ । छोटो समयमै बाघखोरभञ्ज्याङमा ३ वटा पसल बने, ३ वटा होटल बनिसकेका छन् ।

 

पसल तथा होटल थपिने क्रम जारी छ । घर-घडेरीको किनबेचमा वृद्धि भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै पालिकाको वडा नम्बर ३ साउनेचौरलाई गाउँपालिकाको अस्थायी केन्द्र बनाइएको थियो । गाउँपालिकाको अस्थायी केन्द्रलाई साउनेचौरबाट वर्ष दिनपछि २०७५ मा बाघखोरभञ्ज्याङमा सारिएपछि यसले मुहार फेरेको स्थानीय गणेश कोइराला बताउँछन् ।

 

खोटाङका १० स्थानीय तहमध्ये दक्षिणी क्षेत्रमा पर्दछ, बराहपोखरी गाउँपालिका । ६ वडा रहेको गाउँपालिका साविकको सदरमुकामबाट पैदल डेढदेखि २ दिनको दूरीमा पर्छ । गाउँपालिकाको केन्द्रमा केही वर्ष अघिसम्म बसाइँसराइ दर तीव्र थियो ।

 

बढ्दो बजारीकरणले बाघखोरभञ्ज्याङमा हाल बसाइँ सर्ने दर रोकिएको मात्र छैन, बसाइँ सरिसकेका स्थानीय आफ्नै थातथलोमा फर्कन थालेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले जानकारी दिए । बराहपोखरी गाउँपालिकाको मात्र होइन, अन्य स्थानीय तहका केन्द्रले पनि सहरीकरणको रूप लिन थालेका छन् ।

 

स्थानीय तहको कार्यान्वयनले हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम, ऐँसेलुखर्क गाउँपालिकाको केन्द्र ऐँसेलुखर्क, केपीलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला, साकेला गाउँपालिकाको केन्द्र मात्तिम मानेभञ्ज्याङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र छोरम्बु याङसोलाटार, खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङबजार, जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको केन्द्र हरम्टारमा चहलपहल बढ्न थालेको छ ।