close

भक्तपुर- ७ मा २२३ कुकुर !

भक्तपुर- ७ मा २२३ कुकुर !

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको वडा नम्बर ७ मा कुकुरको तथ्यांक सार्वजनिक गरिएको छ । तथ्यांक संकलनमा वडाभित्र २ सय २३ वटा कुकुर पालिएको देखिएको छ । यीमध्ये १ सय ९६ कुकुरलाई मात्र रेबिजको भ्याक्सिन लगाइएको छ । बाँकी २७ वटालाई भ्याक्सिन लगाइएको छैन ।

 

२१ माघदेखि ७ नम्बर वडामा कुकुरको तथ्यांक लिन थालिएको थियो । तथ्यांकअनुसार वडामा भाले कुकुर १ सय १९ र पोथी १ सय ४ वटा छन् । बन्ध्याकरण गरिएका ५ वटा कुकुर छन् । वडामा भ्याक्सिन लगाइएका १ सय ५३ र आफैं लगाएका ४३ वटा रहेको तथ्यांक छ ।


तथ्यांक संकलनमा संलग्न डा. पंकज खनालले सो वडामा १० प्रजातिका कुकुर पालिएको बताए । सबै वडामा तथ्यांक संकलन सकिएपछि भुस्याहा कुकुरलाई व्यवस्थापन गर्ने योजना बनाइने उनले जानकारी दिए ।

 

‘केही वर्षदेखि सडकमा भएका कुकुरलाई रेबिजको सुई लगाउने काम भइरहेको छ ।  यस वर्ष घरमा पालेका कुकुरको तथ्यांक संकलन गर्ने र ट्याग लगाउने काम भएको छ । अर्को चरणमा भक्तपुर नगरपालिकाको वडा नम्बर ९ मा तथ्यांक संकलन गर्ने योजना छ’, डा.खनालले भने ।

 

वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले कुकुरको रेकर्ड राख्न अभियान सुरु गरिएको बताए । त्यसका लागि ६-६ जनाको २ वटा समूह बनाइएको उनले जानकारी दिए । 

 

भक्तपुरका १० वटै वडामा तथ्यांक संकलन गर्ने योजना भएको कवांले बताए । उनले भने, ‘यसपछि कुकुरलाई कसरी पाल्ने, कुकुरको फोहोर कसरी व्यवस्थापन गर्ने विषयमा तालिम दिने योजना छ ।’ सूर्यविनायकस्थित भेट फर एयर पेट क्लिनिकको सहकार्यमा कुकुरको गणना गरिएको हो ।