close

थरुहट उदयपुर रंगशालामा प्रथम त्रियुगा खेल महोत्सव 

थरुहट उदयपुर रंगशालामा प्रथम त्रियुगा खेल महोत्सव 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको थरुहट उदयपुर रंगशालमा प्रथम त्रियुगा खेलकुद महोत्सव सुरु भएको छ । कोभिडका कारण लामो समयदेखि थलिएको खेलकुद क्षेत्रलाई लयमा फर्काउन उदयपुरमा आइतबारदेखि २ चैतसम्म खेलकुद महोत्सव सुरु भएको हो ।

 

झन्डै १ वर्षयता कोभिडले थलिएर भर्खर गतिविधि सुरु भएको खेल क्षेत्रलाई तीव्रता दिन उदयपुरमा ‘प्रथम त्रियुगा नगर स्तरीय खेलकुद महोत्सव २०७७’ आयोजना गरिएको हो । 

 

प्रथम त्रियुगा खेलकुद महोत्सव जिल्लाको खेलकुद इतिहासमै पहिलो हो । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ नाराका साथ महोत्सव आयोजना गरिएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले जनाएको छ । 

 

खेल महोत्सव उद्घाटन गर्दै त्रियुगा नगरप्रमुख बलदेव चौधरीले ‘स्वच्छ, शिक्षित, उद्यमशील सहर ः समावेशी समुन्नत समृद्ध त्रियुगा नगर’ को नारा तय गरी सबै नगरबासीलाई स्वस्थ बनाउने अभियान रहेको बताए । 

 

‘नगरका सबै युवा, महिला, वृद्ध, बालक, कर्मचारी, बुद्धिजीवी, राजनीतिकर्मी स्वस्थ हुनुपर्दछ । कोही पनि रोगको सिकार हुनुहुँदैन । नगरबासीलाई स्वस्थ बनाउने अभियानस्वरूप नगरपालिकाको खेल अभियान गाउँ-गाउँ पु¥याउने योजना छ’, नगरप्रमुख चौधरीले भने । नगरका विभिन्न वडामा रहेका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउने उदेश्यले महोत्सव आयोजना गरिएको चौधरीले बताए ।

 

उनका अनुसार चालू वर्ष खेलकुद शीर्षकमा विनियोजित १३ लाख ५० हजार रुपैयाँ बजेटबाट महोत्सव गर्न लागिएको हो । नगरपालिकाले खेलकुदका लागि हरेक वर्ष बजेट छुट्याएर गतिविधि गर्दै आएको उनको भनाइ ।

 

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय प्रवक्ता किरन राईले देशको भविष्य बनाउने युवालाई खेलकुदका माध्यमबाट बलियो बनाउन यस्ता प्रतियोगिताले सघाउ पुग्ने बताए खेलकुदका लागि सबै तहले लगानी बढाउनुपर्ने उनको सुझाव छ । 

 

खेल महोत्सव नगरका १६ वटै वडाका खेलाडीको सहभागी छन् । बहुखेलमा स्पर्धा गराइने महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, साइक्लिङ, कराते, बक्सिङ र तेक्वोन्दोमा स्पर्धा गराइनेछ ।


महोत्सव उद्घाटन तथा समापन थरुहट-उदयपुर रंगशालामा हुनेछ भने स्पर्धा भने फरक–फरक ठाउँमा गराइने आयोजक त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।

 

उनका अनुसार भलिबल १० नम्बर वडाको बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा, क्रिकेट वडा नम्बर ११ को  पूर्व–पश्चिम बरुवा बसपार्क प्रांगणमा, साइक्लिङ स्पर्धा वडा नम्बर ११ कै चप्पन जंगलको ट्रयाकमा गराइनेछ ।

 

यस्तै, कराते, बक्सिङ र तेक्वान्दोका प्रतियोगिता वडा नम्बर १० कै बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सञ्चालन गरिनेछ । 

 

महोत्सवमा सबै विधा गरी करिब ८ सय हाराहारी खेलाडी सहभागी छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० नगद रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

भलिबलमा पुरुषतर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार तथा महिलातर्फ प्रथमलाई २५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

साइक्लिङमा पुरुषतर्फ प्रथम र दोस्रो हुनेलाई क्रमशः ३० हजार र १५ हजार तथा महिलालाई २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।