close

गन्तव्य स्थल बन्दै रक गार्डेन

गन्तव्य स्थल बन्दै रक गार्डेन

Trulli
ADVERTISEMENT

खोटाङ- रक्षासचिव रेश्मीराज पाण्डेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा रहेको ‘रक गार्डेन’ भ्रमण गरेका छन् । हलेसी तुवाचुङको महादेवस्थानमा पर्ने हलेसी दर्शन गरेपछि पाण्डेले ककनीडाँडामा रहेको ‘रक गार्डेन’ घुमफिर गरेका हुन् ।

 

रक्षासचिव पाण्डेले आफ्नो ३७औँ वैवाहिक वर्षगाँठ पनि ‘रक गार्डेन’ मै मनाए । शनिबार हलेसी दर्शन गरेपछि ‘रक गार्डेन’ पुगेका सचिव पाण्डेले हलेसी तुवाचुङका नगरप्रमुख इवन राईलाई पनि बोलाएका थिए ।

 

‘हलेसीमा दर्शन गरेपछि रक्षासचिव ‘रक गार्डेन’ पुग्नुभएछ । उहाँले मलाई त्यही बोलाउनुभयो,’ नगरप्रमुख राईले भने, ‘म १५/२० मिनेटपछि त्यहाँ पुगेँ । उहाँले वैवाहिक वर्षगाँठ त्यही केक काटेर मनाउनुभयो ।’ 

 

हलेसीमा दर्शन गरेका रक्षासचिव पाण्डे यस आसपासका घुम्नलायक ठाउँबारे खोधखोज गर्ने क्रममा नेपाली सेनाका जरसाब, करसाबसहित ‘रक गार्डेन’ पुगेका थिए ।

 

कडा चट्टान नै चट्टानले ढाकिएको ककनीडाँडालाई नगरपालिकाले ‘रक गार्डेन’ का विकास गर्ने लक्ष्यसाथ आवश्यक संरचना निर्माण थालेपछि पछिल्लो समय सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । 

 

हलेसी आएका दर्शनार्थी एवं पर्यटक घुमफिरका लागि ‘रक गार्डेन’ पुग्न थालेका छन् । ‘रक गार्डेन’ निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँको खर्चमा नगरपालिकाको वडा नम्बर ५ दुर्छिमतर्फबाट सिमेन्टेड पर्खालमाथि स्टिलको रेलिङ राखेर करिब ५ सय मिटर लामो घेराबार हाल्न सुरु गरिएको छ ।

 

त्रि-धार्मिक स्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै आम्दानी बढाउने लक्षितसहित नगरपालिकाले ‘चुरेडाँडा रक गार्डेन’ को योजना अघि सारेको हो ।

 

क्रमागत योजनाका रूपमा करिब साढे ५ करोड रुपैयाँमा सम्पन्न हुने ‘रक गार्डेन’ आयोजना २५ जेठ २०७७ मा नगरप्रमुख राई र उपप्रमुख विमला राईले शिलान्यास गरेका थिए । 

 

स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दीर्घकालीन स्रोत बनाउन विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई रक गार्डेनका रूपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख राईले बताए । 

 

‘ककनीडाँडाका करिब १ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै-चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाउने डिपिआर तयार पारेका छौँ’, नगरप्रमुख राईले भने, ‘रक गार्डेनको वरिपरि क्रमशः रेलिङसहितको पर्खाल हालेर घेरा हाल्ने काम पूरा गरिनेछ । त्यसपछि स्ट्रक्चर र गार्डेनिङको काम हुन्छ ।’ 


हलेसी मन्दिरभन्दा करिब आधा घन्टा पैदल माथि रहेको सिंगो डाँडालाई चुच्चो परेका ढुंगाले ढाकिएको छ । प्राकृतिक चट्टानले बनेको ककनीको मन्दिरभन्दा केही माथि रहेकाले हलेसी र ककनी पुग्ने पर्यटकलाई रक गार्डेनमा पुर्‍याउन सकिने सम्भावना छ ।

 

हलेसी आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा रक गार्डेनको परिकल्पना गरिएको हो । रक गार्डेन बनाउन ककनीडाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी-नचलाई सजावटका काम गरिने नगरप्रमुख राईले जानकारी दिए ।

 

‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन् । हामी त्यसलाई असर नपुग्ने गरी सजावटका काम मात्र गर्नेछौँ,’ राईले भने, ‘यसलाई नगरपालिकाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य छ ।’


ककनीडाँडा उत्तरतर्फका हिमशृंखला र वरपरको दृश्यावलोकनका लागि चर्चित छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रंगका ढुंगाले ढाकिएको ककनीडाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । 

 

मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक जाने गरेका छन् । ककनीडाँडालाई आकर्षक स्थल बनाउन प्राकृतिक रूपमै सजिसजाउ ढुंगालाई सजाउने, ढुंगाको बीच-बीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ-ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भष्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने तयारी छ ।

 

यस्तै, सगरमाथालगायत हिमालको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्न ढुंगाकै स-साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारबार तथा वाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुंगाकै कलात्मक सिँढी निर्माण गने डिपिआरमा उल्लेख छ ।

 

यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानी, विश्राम स्थल, केबुलकार, भोजनालय, कफीसपसम्मको परिकल्पना गरिएको स्थानीय रेवती केसीले बताए ।