close

धवलागिरिका बेरोजगार युवालाई पर्यटक घुमाउने तालिम 

धवलागिरिका बेरोजगार युवालाई पर्यटक घुमाउने तालिम 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाले युवाहरूलाई पर्यटक गाइड(पथ प्रदर्शक) तालिम दिएको छ । बेरोजगार युवा-युवतीलाई सीप सिकाएर पर्यटक पथ प्रदर्शक बनाउन तालिम आयोजना गरेको हो । 

 

नेपाल पर्वतीय एकेडेमीसँगको समन्वयमा १२ फागुनदेखि मुनामा सुरु भएको १५ दिने पर्यटक गाइड तालिममा २१ जनाको सहभागिता छ ।

 

युवा-युवतीमा सीपसँगै पर्यटन विकास, रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले पर्यटक गाइड तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । 

 

‘पर्यटनको सम्भावना हुँदाहुँदै पनि धवलागिरि ओझेल परेको छ’, उनले भने, ‘यहाँ घुम्न आउने पर्यटकको गाइड बनेर स्थानीयले नै रोजगारी पाउन् भनेर सीप सिकाएका हौँ ।’ 

 

तालिम सञ्चालन गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा ५ लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

संसारको सातौँ अग्लो धवलागिरिसहित गुर्जा, चुरेनलगायत हिमाल गाउँपालिकाको भूगोलमा छन् । गाउँपालिकाका योजना अधिकृत कृष्ण सुवेदीका अनुसार यहाँका पर्यटकीय स्थलमा पर्यटक लिएर अन्य ठाउँबाट पथ प्रदर्शक आउँछन् । 

 

आम्दानी र रोजगारीको सम्भावना भए पनि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीपको अभावमा स्थानीय युवा-युवती प्रथ प्रदर्शक बन्न सकेका थिएनन् । 

 

पर्यटक आउँदा अधिकांश स्थानीयको रोजगारी भरियामै सीमित छ । तालिममा सहभागी वडा नम्बर २ लमसुङकी विष्णु बुढाथोकीले पर्यटक गाइड बनेर स्वरोजगार बन्ने योजना रहेको बताइन् । 

 

‘पर्यटक गाइडको लाइसेन्स लिएपछि आफैं व्यवसाय गर्ने सोचेकी छु’, उनले भनिन्, ‘देशका अन्य ठाउँमा पर्यटक घुमाउनुको अलावा हाम्रै गाउँ-ठाउँमा रहेका प्राकृतिक स्थलको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन पहल गर्छु ।’

 

धवलागिरिको वडा नम्बर ६ मराङका सन्देश विकले पनि ट्रेकिङ गाइडको प्रमाणपत्र पाएपछि वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै बसेर पथ प्रदर्शकको काम गर्ने योजना रहेको बताए ।

 

धवलागिरि हिमाल आरोहण गर्न जाने बाटोमा पर्ने वडा नम्बर ४ बगरका खिमबहादुर बुढामगरले तालिम प्रभावकारी र उपयोगी भएको सुनाए । 

 

तालिममा सहभागी युवा-युवतीले सीप सिकेर स्वरोजगार बन्ने र ओझेल परेका पर्यटकीय स्थलमा पर्यटक भित्र्याउन सघाउने बताए । 

 

१५ दिन तालिम लिएपछि उनीहरू पर्यटक पथ प्रदर्शक अनुमतिपत्र लागि परीक्षामा सहभागी हुन योग्य हुनेछन् । तालिम स्थलमै परीक्षा लिएर उत्तीर्ण भएकालाई प्रमाणपत्र प्रदान गरिने प्रशिक्षक केशर श्रेष्ठले जानकारी दिए ।

 

तालिममा पर्यटक गाइड पेसाका लागि आवश्यक सैद्धान्तिक, प्राविधिक, व्यावहारिक ज्ञान, सीपका विषयमा प्रशिक्षण गरिएको छ । पर्यटकमैत्री व्यवहारदेखि व्यवस्थापकीय ज्ञान र सीप प्रदान गरिएको छ ।