close

प्राधिकरणकै कारण राेकियाे विद्युतीकरण, ‘उज्यालो वडा’ अभियानमा धक्का

प्राधिकरणकै कारण राेकियाे विद्युतीकरण, ‘उज्यालो वडा’ अभियानमा धक्का

Trulli
ADVERTISEMENT

खोटाङ– नेपाल विद्युत् प्राधिकरणले आवश्यक सामग्री नपठाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ डिकुवाको विद्युतीकरण प्रभावित भएको छ ।

 

प्राधिकरणको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरबाट आवश्यक पोल, तार, ट्रान्सफर्मरलगायत उपकरण नआउँदा विद्युतीकरण प्रभावित भएको हो । सामान ढुवानी गर्ने, पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्नेलगायतको ठेक्का लिएको विश्वशिखर निर्माण सेवा उदयपुरले चालू आर्थिक वर्षदेखि नै काम नगरेको नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।


प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरले आवश्यक सामग्री पठाउन ढिलाई गरेकाले बाहुनीडाँडा र डिकुवाको विद्युतीकरणको काममा ढिलासुस्ती भएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । 

 

दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरी प्रदेश कार्यालयबाट सामान नआउँदा विद्युतीकरण रोकिएको बताउँछन् । ‘कतिपय पठाइए पनि थप सामान अभावमा करिब ६ महिनादेखि विद्युतीकरणको काम रोकिएको छ’, चौधरीले भने ।

 

तोकिएको समयमा आवश्यक सामग्री आपूर्ति नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको ‘उज्यालो वडा घोषणा’ अभियानमै असर पुगेको छ । ११ वडामध्ये वडा नम्बर १ बाहुनीडाँडा, वडा नम्बर २ डिकुवा र वडा नम्बर ३ च्यास्मीटारलाई मात्र उज्यालो वडा घोषणा गर्न बाँकी छ ।

 

विद्युतीकरणमा ढिलासुस्ती हुँदा उज्यालो वडा घोषणा गर्ने अभियानमा असर पुगेको नगरप्रमुख इवन राईले बताए । प्राधिकरणले आवश्यक सामग्री उपलब्ध गराउने गरी विश्वशिखर निर्माण सेवाले गत वर्ष ४७ लाख रुपैयाँमा विद्युतीकरणको ठेक्का लिएको हो । हालसम्म बाहुनीडाँडा र डिकुवामा अझै १ सय २५ किलोमिटर तार पुग्न बाँकी रहेको प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख उमेश महतोले जानकारी दिए ।

 

हालसम्म २ वटा वडामा १८ किलोमिटर तार मात्र पु¥याएर टाँगिएको छ । हाई–टेन्सनका १ सय ५ वटा र लो–टेन्सनका ८ सय ७८ वटा पोल भने पुगिसकेको प्राधिकरणको वितरण केन्द्रले जनाएको छ । 

 

यस्तै, ८ वटा ट्रान्सफर्मर पुग्नुपर्नेमा अझै ६ वटा पुग्न सकेका छैनन् । प्राधिकरणले आवश्यक सामग्री पठाउन नसक्दा करिब डेढ महिनाअघि विद्युतीकरणका लागि ६ महिना म्याद थप भएको प्राविधिक प्रमुख महतोले बताए ।

 

सामान पुगेका र जडान भइसकेका केही ठाउँमा गत १४ फागुनमा टेस्टिङ र चार्जिङ पनि गरिएको छ । डिकुवामा अझै हाई–टेन्सनकै ६५ वटा पोल अभाव रहेको वडाध्यक्ष हरिकुमार खड्काले बताए ।

 

खड्काका अनुसार बाहुनीडाँडामा हाइटेन्सनकै ४० वटा पोल अभाव छ । धेरैजसो ठाउँमा ठेकेदारको ढिलासुस्तीका कारण निर्माण अवरुद्ध हुने गरेको छ तर बाहुनीडाँडा र डिकुवामा भने प्राधिकरणकै कारण विद्युतीकरणको काममा ढिलासुस्ती देखिएको हो । 

 

विद्युतीकरणको काममा भइरहेको ढिलासुस्तीविरुद्धमा बाहुनीडाँडाका वडाध्यक्ष राई गत १९ माघमा प्रशासन, विद्युत् प्राधिकरणलगायतका कार्यालयमा डेलिगेसन जाने तयारी गरेका थिए । तर, नगरपालिकाकै दबाबपछि पछि हट्नु परेको राईले सुनाए ।

 

‘विद्युतीकरणमा अति नै ढिलासुस्ती भयो । ठेकेदारले टेरेन, प्राधिकरणले पनि हाम्रो कुरा सुनेन,’ वडाध्यक्ष राईले भने, ‘प्रदेशबाटै सामान आएन भन्दै आलटाल गर्ने काम भइरहेको छ ।’


आवश्यक सामग्री अभावमा खोटाङकै साकेला गाउँपालिकामा समेत विद्युतीकरणको काममा असर पुगेको छ । तार अभावमा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, मात्तिम र खिदिमामा विद्युतीकरण प्रभावित भएको हो ।

 

खिदिमामा ३० किलोमिटर तथा मात्तिम र बाँझेच्यानडाँडामा २२ किलोमिटर तार अभाव नहुँदा विद्युतीकरणको काम रोकिएको हो ।प्राधिकरणका प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारीले सामान आउने क्रम जारी रहेकाले काम अघि बढ्ने दाबी गरे । ‘कोरोनाले पनि असर गर्‍यो । हाल सामान आपूर्तिका लागि गरिएको बोलपत्रबाट सामान आउने क्रम जारी छ,’ तिवारीले भने, ‘४/५ महिनापछि गत आव र चालू आवको काम सँगसँगै अघि बढ्छ ।’