close

सस्तो मूल्यमा औषधी उपलब्ध गराउँदै बरेङ

सस्तो मूल्यमा औषधी उपलब्ध गराउँदै बरेङ

Trulli
ADVERTISEMENT

बागलुङ– भूगोलअनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई सुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीका लागि टोलटोलमै आवश्यक औषधीको प्रबन्ध गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो ।


स्वास्थ्य चौकीमा निःशुल्क पाउने सूचीकृतबाहेक सस्तोमा औषधी उपलब्ध गराउने अभियान गाउँपालिकाले थालेको हो । स्वास्थ्य चौकी तथा इकाइमा औषधी किन्ने व्यवस्था मिलाइएको छ ।
 

स्वास्थ्य चौकीमा नपाइने औषधी खरिदका लागि बिरामी तथा तिनका आफन्त टाढा रहेका निजी मेडिकल पसलमा जानुपर्ने बाध्यता अन्त्य गर्न अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 


बिरामीको सुविधालाई ध्यानमा राखेर अंकित मूल्यभन्दा १० प्रतिशत छुटमा औषधी किन्ने सुविधा थपिएको स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिए ।

 
औषधी खरिदका लागि गाउँपालिकाले प्रत्येक स्वास्थ्य संस्थालाई पहिलो पटक १ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । सेवाग्राही बढी भएको तर नजिकमा निजी मेडिकल नभएको क्षेत्रमा यो वर्ष उक्त सेवा थप हुनेछ । 


पुनका अनुसार बरेङको सुखौरा, सल्यान स्वास्थ्य चौकी र साग्दी सामुदायिक स्वास्थ्य इकाइमा यो वर्ष औषधी व्यवस्थापन गरिनेछ । सुखौरामा उक्त सेवा सुरु गरिएको छ । 


अन्य स्वास्थ्य संस्थामा क्रमशः सेवा थप गर्दै जाने उनले बताए । स्वास्थ्य चौकीमा प्राप्त हुने ३८ प्रकारका औषधीबाहेक अन्य खरिद गर्नुपरे स्वास्थ्य संस्थाले नै सस्तो मूल्यमा औषधी बिक्री गर्ने व्यवस्था छ ।

 

यसबाट बिरामीलाई राहत हुने गाउँपालिकाको विश्वास छ । उक्त औषधी बिक्रीको छुट्टै आम्दानी खाताको व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख पुनको भनाइ छ ।


सल्यान र बाटाकाचौरको उपल्लो क्षेत्रका नागरिकलाई लक्षित गरी साग्दी सामुदायिक स्वास्थ्य इकाइमा नमुनाको रूपमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्दै छ । 


यसअघि गाउँपालिकाले धुल्लुबाँस्कोटको लुगरुङ र गँडेल, हुग्दीशिरको बराहकोट, बाटाकाचौरको साग्दी, सल्यानको थप्लुङमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको थियो ।