close

जुम्लामा ज्येष्ठ नागरिकले ८ महिनादेखि पाएनन् भत्ता

जुम्लामा ज्येष्ठ नागरिकले ८ महिनादेखि पाएनन् भत्ता

Trulli
ADVERTISEMENT

जुम्ला– राजनीतिक वृत्तमा आफ्नो लोकप्रियता बढाउन नेताहरूले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पु¥याउने बेलाबेला उद्घोष गरे पनि जुम्लाका लक्षित वर्गले ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

 

ज्येष्ठ नागरिक तथा लक्षित वर्गले दसैँ–तिहारमा सामाजिक सुरक्षा भत्ता पाइने आश गरे पनि पाउन सकेनन् । दसैँ–तिहारपछि ४ महिना बितिसक्दा पनि चन्दनाथ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।

 

भत्ता नपाएपछि समस्या भएको अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिले असोजमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर, दोस्रो चौमासिक अर्थात् ८ महिनासम्म पाएका छैनन् ।

 

‘जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिन्छन् । हामीले पाउनुपर्ने सुविधाका विषयमा चासो देखाएनन्’, उनीहरूको सामूहिक गुनासो छ । चन्दननाथको वडा नम्बर ३ जुम्लाका ७६ वर्षीय दुर्गबहादुर खत्रीका अनुसार मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा ८ महिनासम्म दिइएको छैन । ‘दसैँ–तिहारान भत्ता खाउँला भनेर आश गरेका कोही बूढाबूढी मरिसके । भत्ता अझै आएन’, उनले भने ।

 

नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख राजेन्द्र भण्डारीका अनुसार मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम अपुग आएकाले ढिला भएको हो । ‘मन्त्रालयमा रकम माग गरेका छौँ’, उनले भने, ‘अब छिट्टै ८ महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने तयारी छ ।’

 

चन्दननाथमा ७ सय २० जना ज्येष्ठ नागरिक छन् । एकल महिला ३ सय ४५, बालबालिका १ हजार ३ सय ७३ जना र अपांगता भएका व्यक्ति १ सय ६६ जना छन्  । ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा २ हजार भत्ता तथा ७० वर्षमाथिकालाई २ हजार भत्तासँगै १ हजार रुपैयाँ उपचार खर्च दिने व्यवस्था छ । त्यस्तै, एकल महिलालाई महिनामा २ हजार र बालबालिकालाई प्रतिमहिना ४ सय रुपैयाँ दिने गरिएको छ ।