close

बजेट अभावमा नगरपालिकालाई ठूला योजना अघि बढाउन सकस

बजेट अभावमा नगरपालिकालाई ठूला योजना अघि बढाउन सकस

Trulli
ADVERTISEMENT

रूपन्देही– ‘ऋण लगानीमा पूर्वाधार: समृद्ध नेपालको आधार’ नारासहित नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रूपन्देही सुरु भएको छ ।

 

लुम्बिनी प्रदेशभरिका नगरपालिकाका प्रमुख, उपप्रमुख, योजना अधिकृत र इन्जिनियर सहभागी गोष्ठीको प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गरे ।

प्रदेशभरिका नगरप्रमुखलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यादवले कोषले लुम्बिनीका नगरपालिकालाई विशेष प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताए । नगरको विकास भनेकै सहरमा विकास भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको प्रदेश प्रमुख यादवको भनाइ छ । 


कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरूलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए । डा. कँडेलले जनप्रतिनिधिलाई कार्यकारीहरूले समयमा सूचना नदिँदा आयोग र नगरपालिकाबीच समन्यमा समस्या भएको धारणा राखे ।


‘योजना ४० करोडको तर बजेट विनियोजन भने ४० लाख रुपैयाँको गर्ने । यो लगानीको सदुपयोग हो वा दुरुपयोग ?’ हचुवाको भरमा काम नगर्न नगरपालिका प्रमुख कार्यकारी, योजना अधिकृत र इन्जिनियरलाई डा. कँडेलले सुझाए ।


संघीय मामिला तथा समान्य विकास मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले नगर विकास कोषले पुँजी कम भएका नगरपालिकामा पूर्वाधार विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिए । सम्भावना भएका ठाउँमा लगानी गर्न कोषले पहल लिनुपर्ने उनको भनाइ छ । गौतमले भने, ‘लगानी गर्न ठाउँ छनोट गर्नुस् । प्रतिफल आउँछ÷आउँदैन, हेर्नुस अनि लगानी बढाउनुस् ।’


नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको जानकारी दिए । पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताए । 


कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकार अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्नेमा जोड दिए । 


नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न नगरप्रमुखहरूलाई नहिच्किचाउन आग्रह गरे । आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरूले पहल गर्नुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा तिलोत्तमाका नगरप्रमुख वासुदेव घिमिरेले ठूल्ठूला योजना अघि बढाउन आर्थिक लगानी कम भएको बताउँदै त्यसका लागि पुँजी आवश्यक रहेको धारणा राखे । नगरका ठूला योजना बनाउन डिपिआर तयार भइरहेको र तिलोत्तमालाई नमुना नगरको रूपमा लैजाने गरी काम भइरहेको उनले जानकारी दिए । 


बुटवल उपमहानगर प्रमुख तथा नगर विकास कोष सञ्चालन समितिका सदस्य शिवराज सुवेदीले कोषसँग पालिकाहरूको सहकार्यका लागि नियमावली संशोधनको तयारी भरहेको बताए । पालिकासँग सहकार्य गरेर अघि बढ्न कोष तयार रहेको प्रतिबद्धता जनाए ।


गोष्ठीमा लुम्बिनी प्रदेशका ३७ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृतलगायत सहभागी थिए । कार्यक्रममा कोषका प्रतिनिधि र नगरपालिका प्रमुखलगायतसँग छलफल गरी लगानीका सम्भाव्य परियोजना अगाडि बढाउनेबारे छलफल गरिएको कार्यकारी निर्देशक सापकोटाले बताए ।