close

स्थानीय स्रोत–सीपलाई उपयोग गर्दै सिरिजंघा

स्थानीय स्रोत–सीपलाई उपयोग गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय स्रोत र सीपको उपयोग हुने प्रकृतिका विकास निर्माणलाई प्राथमिकता दिने भएको छ । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार स्थानीयलाई लाभ, जीविकोपार्जनमा टेवा र स्थानीय स्रोत र सीपको उपयोगलाई ध्यान दिएर कार्यक्रम सुरु गरिएको छ ।

 

जीविकोपार्जनमा टेवा पुग्ने कार्यक्रमअन्तर्गत मानवीय जनशक्तिको प्रयोगमार्फत गर्न सकिने पूर्वाधारसमेत समेटिएका छन् । गाउँपालिकाले वडा नम्बर ४ तेल्लोकको तिलबारीबाट ट्याकट्याक हुँदै इलाका प्रहरी कार्यालयसम्म जाने करिव ९ सय मिटर लामो मोटर बाटो सोलिङ गर्ने कार्य भइरहेको समेत घिमिरेले बताए ।

 

बाह्रैमास सवारी सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाले केही उकालो र बर्खायाममा हिलाम्मे भइरहने क्षेत्रमा सोलिङ अघि बढाएको हो । गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारमार्फत निर्माण भइरहेको पालिकाका रोजगार संयोजक हिमाल तिमल्सिनाले जानकारी दिए ।

 

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकांश योजनामा स्थानीय स्रोत र सीपको उपयोग हुने प्रकृतिका कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले स्थानीयको जीविकोपार्जनलाई टेवा पुग्ने गरी योजना छनोट गरिएकाले गुणस्तरीय काम हुने दाबी गरे ।