close

 हलेसी तुवाचुङमा ‘बालिका बचत’ कार्यक्रम

 हलेसी तुवाचुङमा ‘बालिका बचत’ कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मानमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले १११औँ अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।


दिवस अवसरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्वजलस्रोत राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रमअन्तर्गतको चेक हस्तान्तरण गरेर कार्यक्रम सुरु गरेकी हुन् ।


बालिकामैत्री नगरपालिका बनाउने लक्ष्यसाथ आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ सुरु गरिएको नगर उपप्रमुख विमला राईले बताइन् । 


‘बालिका बचत’ कार्यक्रमअन्तर्गत नगरपालिकाले गत १ साउनयता जन्मिएका हरेक छोरीको नाममा खाता खोल्ने र ३ वर्षको उमेर पुग्दासम्म वार्षिक ४ हजार रुपैयाँका दरले खातामा रकम जम्मा गरेर सहयोग उपलब्ध गराउने व्यवस्था छ ।


कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाबीच वार्षिक ९ प्रतिशत ब्याज उपलव्ध गराउने गरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्दती खाता खोल्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

 

११ वटा वडा रहेको नगरपालिकामा गत १ साउनदेखि माघ मसान्तसम्म ९३ जना बालिका जन्मिएको महिला तथा बालबालिका शाखाका संयोजक इरन राईले बताइन् ।


बैंक खातामा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था छ । बचत गर्ने बानीको विकासका लागि नगरपालिकाले जम्मा गरिदिएको खातामा बालिकाको परिवारले समेत रकम बचत गर्न सक्नेछन् ।

 

‘बालिका बचत’ कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले ४ पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्नेछ ।


लामो समयसम्म नगरबाहिर बसिरहेको अवस्थामा गाउँमै आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने उपप्रमुख राईले बताइन् । 


समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद कायम छ । कतिपय दम्पतीले छोरीको भ्रुण पहिचान गरेर गर्भपतन गर्ने गरेका छन् । यो अवस्थामा ‘छोराछोरी बराबरी’ हुन् भन्ने बुझाइको विकासका लागि छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ‘बालिका बचत’ कार्यक्रम ल्याइएको हो ।


३० असार २०७६ मा पूर्ण बर्थिङ सेन्टरमुुक्त वडा घोषणा गरिएको नगरपालिकाका हरेक गर्भवती महिलालाई अनिवार्य बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउन प्रोत्साहन गर्न पनि ‘बालिका बचत’ कार्यक्रम ल्याइएको उपप्रमुख राईले जानकारी दिए ।

 

‘समाजमा छोरा र छोरीमाथि विभेद भइरहेका छन् । त्यही भएर छोरी जन्माउने आमाबुबाको प्रोत्साहनका लागि बालिका बचत कार्यक्रम ल्याइएको हो । यसले बचत गर्ने बानीको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ,’ उपप्रमुख मेयर राईले भनिन्, ‘नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर बनिसकेका छन् । सुत्केरीलाई अनिवार्य बर्थिङ सेन्टरमा गएर सुरक्षित सुत्केरी गराउने वातावरण बनाउन कार्यक्रम अघि सारिएको हो ।’


‘बालिका बचत’ कार्यक्रमले समाजमा छोरीलाई हेर्ने नजरमा परिवर्तन ल्याउन सहयोग पुग्ने नगरप्रमुख इवन राईले बताए ।