close

कर्णालीका ३ स्थानमा औद्योगिक ग्रामकाे तयारी

कर्णालीका ३ स्थानमा औद्योगिक ग्रामकाे तयारी

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेशका २ वटा जिल्लाका ३ वटा ठाउँमा औद्योगिक ग्राम स्थापना हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जाजरकोट र सुर्खेतका ३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको हो । ग्राम स्थापनाका लागि जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ४ तिमिलेपाखाको ४८ रोपनी जग्गा, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ११ को २० बिघा जग्गा र चौकुने गाउँपालिकाको वडा नम्बर ५ को १० बिघा जग्गा छनोट गरिएको छ ।

 

औद्योगिक ग्राम स्थापनाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय तहलाई ९२ लाख रुपैयाँ निकासासमेत गरिसकेको छ । औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरिएको र त्यसैका आधारमा संघीय सरकारले रकम विनियोजन गरेको सुर्खेतको पञ्चपुरी नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताए ।

 

‘औद्योगिक क्षेत्र स्थापना गर्ने पहिलादेखिकै तयारी थियो,’ उनले भने, ‘सामुदायिक वन क्षेत्रमा औद्योगिक ग्राम स्थापना गरिनेछ ।’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ठूला उद्योग नभएका कारण औद्योगिक क्षेत्रको माग लामो समयदेखि हुँदै आएको भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख भूपेन्द्रबहादुर चन्दले जानकारी दिए । सोही कारण २ ठाउँमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामका लागि छनोट भएको उनले बताए  ।

 

‘औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयले रकम हस्तान्तरण गरेको छ’, उनले भने, ‘चालू आर्थिक वर्षमै औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।’