close

सन् २०३० सम्म देशको अर्थतन्त्र सय खर्ब पुर्‍याउने महासंघको योजना

सन् २०३० सम्म देशको अर्थतन्त्र सय खर्ब पुर्‍याउने महासंघको योजना

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० भित्र नेपालको अर्थतन्त्र १ खर्ब डलर अर्थात् १०० खर्ब रुपैयाँ पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ ।

 

महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

 

महासंघले ‘राष्ट्रिय आर्थिक रुपान्तरणको मार्गचित्र २०३०’ नामक भिजन पेपरमार्फत यस्तो लक्ष्य लिएको हो । उक्त भिजन पेपरको मस्यौदा सार्वजनिक गरिएको छ । अन्तिम मार्गचित्र भने चैत मसान्तभित्र सार्वजनिक गर्ने गोल्छाले बताए । 

 

समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा रहेको उक्त मार्गचित्र महासंघको कार्यकारिणी समितिबाट अनुमोदन भइसकेको छ । ७ वटै प्रदेशका उद्योगीहरूको राय सुझाव लिएर उक्त मार्गचित्र तयार गरिएको बताइएको छ ।

 

विशेषगरी २०३० सम्म मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंकको बनाउने मार्गचित्रमा उल्लेख छ । त्यसका लागि लगानी पनि वृद्धि गर्नुपर्ने बताइएको छ । यस्तै, थप २२ लाखलाई रोजगारी दिइने लक्ष्य लिइएको पनि गोल्छाले बताए । हाल नेपालमा लगभग ७० लाखले रोजगारी पाएका छन् ।

 

त्यसमा २०३० सम्म थप २२ लाखलाई रोजगारी दिने महासंघको लक्ष्य छ । यस्तै, सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय व्यापारमा निर्यात हिस्सा बढाउने मार्गचित्रमा उल्लेख छ ।

 

अहिले वैदेशिक व्यापारमा निर्यात हिस्सा ८ प्रतिशत छ । २०३० सम्म त्यो २० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । नेपालमा उत्पादन सम्भव भएका वस्तुको उत्पादनमा वृद्धि गरी आयात नै प्रतिस्थापन गर्दै जाने महासंघको लक्ष्य छ ।

 

मार्गचित्रमा १० प्राथमिकता प्राप्त क्षेत्र पनि तोकिएका छन् । त्यसमा कोरोना प्रभावित उद्योग–व्यवसायको पुनरुत्थान, नीतिगत सुधार, सहज र प्रतिस्पर्धी व्यापारिक वातावरण निर्माण रहेको छ । 


लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापारमा सुधार तथा निर्यात वृद्धि, साना तथा मझौला उद्योग र स्टार्टअपको विकासलाई समेटिएको छ । यसैगरी व्यवसायको लागत न्यूनीकरण, पूर्वाधार विकास, नलेज बेस्ड इकोनोमी, श्रम व्यवस्थापन र क्षमता विकास, मुलुकको समृद्धिप्रति जिम्मेवार निजी क्षेत्र रहेको मार्गचित्रमा उल्लेख छ । 

 

यसभित्र पनि १०० कार्यक्रम रहेका छन् । त्यसमध्ये ४१ कार्यक्रम यही आर्थिक वर्षभित्र सुरु गर्न सकिने गोल्छाले बताए । कोभिडको चुनौतीपूर्ण समय मार्गचित्र ल्याउन लागिएको महासंघ अध्यक्ष गोल्छाले बताए । उक्त मार्गचित्र कार्यान्वयन गर्न महासंघले छुट्टै इकाइ बनाउने बताइएको छ । 

 

उक्त मार्गचित्रले नेपाललाई आत्मनिर्भर बनाउने र समृद्धितर्फ लैजान सहयोग पुग्ने महासंघको विश्वास छ ।  समृद्धिका विषयमा विदेशी मुलुकमा भएका अभ्यासलाई हेरेर अर्थतन्त्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा गोल्छाले जोड दिए । 

 

मार्गचित्रमा नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने विषय समेटिएको छ । यस्तै, औद्योगिक क्षेत्रमा भएका समस्या समाधान गर्ने, नाफामा आधारित कृषिमा पनि जोड दिएको छ । यसैगरी अर्थतन्त्रको विकासमा विदेशी मुलुकले गरेको अभ्याससम्बन्धी विषय मार्गचित्रमा उल्लखे गरिएको गोल्छाले जानकारी दिए ।