close

काेराेना देखिएपछि ताप्लेजुङको फुङलिङ बजार शिल

काेराेना देखिएपछि ताप्लेजुङको फुङलिङ बजार शिल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङस्थित फुङलिङ बजारमा रहेको प्राइम बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार रातीबाट बजार क्षेत्र शिल गरिएको छ । 


प्राइम बैंक नजिक वीरेन्द्र चोक वरपरका बजार पसल बन्द गरी स्थानीयलाई १४ दिनसम्म होम आइसोलेसनमा बस्न प्रहरीले आह्वान गरेको छ । प्रहरीले माइकिङमार्फत संक्रमित व्यक्ति बढी आउजाउ हुने क्षेत्रका बजार, पसल बन्द गर्न आग्रह गरेको हो ।


संक्रमित बैंकका कर्मचारी र नोबेल मेडिकल कलेज विराटनगर तथा झापाको कन्काई अस्पतालमा उपचार गराई फर्किएका फक्ताङलुङ गाउँपालिकाका संक्रमित वृद्धा २ जनालाई ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । 


बैंकमा कार्यरत संक्रमित कर्मचारी केही दिनअघि मात्र आफ्नो घर विराटनगर पुगेर फर्किएका थिए । 


कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जिल्लावासीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।


संक्रमित जिल्लाबाट फर्किएकाहरू कम्तीमा १४ दिन कडाइपूर्वक होम आइसोलेसनमा बस्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरे मात्र कोरोना संक्रमण फैलिन नसक्ने उनले बताएका छन् ।