फिक्का लाग्ने मुस्कान !


  • change font
  • change font
  • change font

तनहुँ– जस्तापाताले छाएको पुरानो २ तले ३ कोठे घर ठाउँ–ठाउँमा चर्किएको छ । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमूली बसाइँ सरेजस्तै देखिने आँगन । आँगनको छेवैमा पानीको धारो । 


धनमाया गुरुङ (५३) र खमबहादुर गुरुङ (३८) वर्षौंदेखि यहीँ परिवेशमा बाँचिरहेका छन् । पूर्ण रूपमा मानसिक अपांगता भएका यी २ जना सहोदर दिदीभाइ हुन् । 


बाबुआमा गुमाइसके । आफन्त बसाइँ झरे । आफन्त र गाउँलेको संरक्षण धेरथोरै पाए पनि गाउँको बीचको घरमा उनीहरू एक्ला छन् । आफ्नो छुट्टै संसार होला उनीहरूको । गुरुङ भाषा मात्र बुझ्छन् रे ।

 

कसैले केही सोधेमा जवाफमा मुस्कान दिन्छन् । तर, त्यो मुस्कान फिक्का लाग्छ, जब उनीहरूको दर्दनाक अवस्था बुझिन्छ । ‘भोक लाग्योसमेत भन्न जान्दैनन् । कहिलेकाहीँ त जुठेल्नामा फ्याँकेको खाना टिपेर पनि खान्छन्’, घर नजिकका एक छिमेकीले भने । 


उनीहरूका दाजु खेमराजले बजारबाट चामल पठाइदिन्छन् । छिमेकीले पुर्‍याएर दिन्छन् । ती छिमेकीका अनुसार घरमा भएका सरसामान एकै पटक आवश्यकताभन्दा बढी पकाइदिन्छन् । न खाने समय हुन्छ, न त सुत्ने । जति बेला मनल जे भन्छ, त्यही गर्छन् ।


यी २ दिदीभाइलाई शुक्लागण्डकी नगरपालिकाले घरमै पुगेर अपांगता परिचयपत्र दिएको छ । नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेल, वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर गुरुङ, ढोर फूलबारी सहिद अस्पतालकी डा. प्रतीक्षा आलेलगायतको टोलीले वडा नम्बर २ राङ्दीस्थित उनीहरू बस्ने घर पुगेर ‘क’ वर्गको रातो अपांगता परिचयपत्र थमाए । 


‘नगरपालिका कार्यालयसम्म ल्याउन नसक्ने अवस्था छ भनेपछि घरमै पुगेर परिचयपत्र दियौँ’, सामाजिक विकास शाखा प्रमुख पोखरेल भन्छिन्, ‘त्यहाँ पुग्दा अवस्था एकदमै दर्दनाक देख्यौँ ।’

 

रातो कार्ड पाएपछि सरकारले उनीहरूलाई मासिक ३ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिइनेछ । भत्तामा पाउने रकम उनीहरूका लागि सार्थक नहुने बताउँछिन्, पोखरेल । भन्छिन्, परिचयपत्र दिँदैमा जीवनस्तर सुधार हुने देखिँदैन । उनीहरूलाई त संरक्षणको खाँचो छ ।’


संरक्षक र सरकारले उनीहरूको लालनपालन, सरसफाइ, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने उनको सुझाव छ । जन्मजात पूर्ण रूपमा मानसिक अपांगता भएका यी २ जनाले पहिलो पटक परिचयपत्र पाएका हुन् । 


नगरपालिकाले कार्यालयमा पटक–पटक परिचयपत्र वितरणका लागि शिविर गरिरहन्छ । त्यहाँसम्म लैजान नसक्दा अहिलेसम्म परिचयपत्र नबनेको दाजु खेमराजले सुनाए । ‘गाडीमा चढाएपछि रोइदिने । त्यहाँबाट भागेर बेपत्ता भइदिने गरेपछि परिचयपत्र बनाउन सकेका थिएनौँ’, उनले भने । 


नगरपालिकाको टोली घरमै पुगेर परिचयपत्र दिएपछि उनले स्थानीय सरकारको महत्त्व बुझेको बताए । हालसम्म शुक्लागण्डकीले ६ सय ५६ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ ।


सामाजिक विकास शाखाको तथ्यांकअनुसार १ सय ६५ जनालाई ‘क’ (रातो), २ सय ६५ जनालाई ‘ख’ (नीलो), १ सय ४४ जनलाई ‘ग’ (पहेँलो) र ८२ जनालाई ‘घ’ (सेतो) वर्गको परिचयपत्र वितरण गरिएको छ । रातो परिचयपत्र पाउने मासिक ३ हजार र नीलो पाउनेले २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् । पहेँलो र सेतो परिचयपत्र भएकालाई शिक्षा, स्वास्थ्य उपचार, यातायातलगायतमा छुटको व्यवस्था हुन्छ ।