close

स्व–मूल्यांकन नतिजा सफ्टवेयरमा राख्न स्थानीय तहलाई पत्र

स्व–मूल्यांकन नतिजा सफ्टवेयरमा राख्न स्थानीय तहलाई पत्र

Trulli
ADVERTISEMENT

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ–आफ्नो स्थानीय तहको स्व–मूल्यांकन गरी प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले सफ्टवेयरको विकास गरेको जनाएको छ ।

 

मन्त्रालयले नेपालको संविधान तथा प्रचलिन कानुनको मर्म र भावनाअनुसार स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नुपर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रभावकारिता वृद्धि गर्न स्व–मूल्यांकन गर्नुपर्नेसमेत जनाएको छ ।

 

यसका लागि स्थानीय तहले मन्त्रालयबाट स्वीकृत कार्यविधिअनुसार प्रदेशस्तरीय प्रशिक्षकको सहयोग लिई त्यहाँबाट आ–आफ्नो स्थानीय तहको स्व–मूल्यांकन गरी प्राप्त नतिजा मन्त्रालयको सफ्टवेयरमा प्रविष्ट गर्र्नुपर्नेछ ।

 

स्थानीय तहले स्व–मूल्यांकनमार्फत सेवा प्रवाह र विकास निर्माणको मुख्य जिम्मेवारीका क्रममा कार्य प्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास निर्माण तथा सुशासनबारे भएका कमी–कमजोरीको पहिचान गर्न, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहबीच तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउन स्थानीय तहको स्व–मूल्यांकनको आवश्यकता रहेको मन्त्रालयले भनेको छ ।

 

त्यसका लागि मन्त्रालयले संस्थागत क्षमता स्व–मूल्यांकन कार्यविधि यसअघि नै स्वीकृत गरिसकेको समेत जनाएको छ । मन्त्रालयले यसअघि नै ७ वटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको र उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षकलाई समेत प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रमार्फत स्व–मूल्यांकनका लागि पठाउने व्यवस्थासमेत मिलाएको जनाएको छ ।