close

सिंजाको ओदी पाटनमा भेडा स्रोत केन्द्र

सिंजाको ओदी पाटनमा भेडा स्रोत केन्द्र

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका वडा नम्बर २ ओदी गाउँको ओल्खे पाटनलाई भेडा स्रोत केन्द्रका रूपमा स्थापना गरेको छ ।

 

कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजनाअनुरूप जुम्लाको ओदीको ओल्खेमा भेडा स्रोत केन्द्र स्थापना गरिएको हो ।

 

यहाँ प्रशस्त चरन क्षेत्र छ । भेडापालनका लागि अनुकूल भूगोल पनि भएकाले भेडाबाख्रा स्रोत केन्द्र बनाउन थालिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने, ‘भेडा स्रोत केन्द्रले यहाँको आर्थिक समृद्धिमा टेवा पु¥याउने निश्चित छ । कृषि पर्यटनलाई सहयोग पुग्नेछ ।’

 

भेडा स्रोत केन्द्रमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरबाट ल्याइएका २० वटा उन्नत जातका भेडा राखिएको छ । ओदी गाउँमा २ सय घरधुरी छन् । सबै घरमा न्यूनतम १५ देखि २ सय भेडापालन गरिएको छ । 

 

भेडा स्रोत केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ । भेडा स्रोत केन्द्रमा स्थानीय र उन्नत जातका भेडा राख्न छुट्टाछुट्टै खोर बनाइनेछ । ‘स्रोत केन्द्रलाई भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरजस्तै बनाउन पहल भइरहेको छ’, प्रमुख महतले भने, ‘अन्यत्र जिल्लाबाट भेडाको माग भएजति पठाउन सकिने गरी भेडापालन गरिनेछ । यो स्रोत केन्द्रबाट किसानले खोजेको जात दिन सकिनेछ ।’

 

भेडा स्रोत केन्द्रका लागि झन्डै ८ करोड रुपैयाँको डिपीआर बनेको छ । स्रोत केन्द्र नजिकै होमस्टे, भ्यु टावर र गेस्टहाउस बनाएर पर्यटक ल्याउन सकिने स्थानीय बताउँछन् ।

 

नाग्म–गमगढी सडकदेखि झन्डै ३ घन्टाको दूरीमा यातायातका साधनबाट ओल्खे पाटन पुगिन्छ । ‘पर्यटकीय क्षेत्र राराताल जाने पर्यटकलाई एक बास बसाल्न सक्छौँ । गेस्टहाउस निर्माण गर्न सक्छौँ’, स्थानीय भन्छन् । यो क्षेत्रबाट झन्डै १२ जिल्लाको भूगोल देख्न सकिन्छ । 

 

अघिल्लो वर्ष प्रदेश सरकारको १ करोड बजेट विनियोजनमा ४५ लाख रुपैयाँ मात्रै खर्च भएको प्रमुख महतले बताए । उनले भने, ‘चालू आर्थिक वर्षमा पनि १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ३ वर्षमा सम्पन्न गर्ने गरी भेडीगोठ भवनको निर्माण थालिएको छ । 

 

नाग्म–गमगढी सडक खण्डको कोइरेली, वड्की, स्यारगाउँ, ओेदी, लामाविष्णु मन्दिर, महादेव हुँदै ओल्खे पुगिन्छ । झन्डै ७ हजार ५० वर्गमिटर क्षेत्रफलमा भेडा स्रोत केन्द्र बनेको छ । 

 

भेडी फार्म निर्माण भएको स्रोत केन्द्रको भवन बनिसकेको छ । घेराबार पर्खाल, पानीको व्यवस्थापन गरिएको छ । लामा विष्णु भेडीपालन समूहका प्रेम रोकाया भेडा स्रोत केन्द्र स्थापनाले गाउँमा रोजगारी र आम्दानी दुवै बढ्ने बताउँछन् 


उनले भने, ‘यो क्षेत्र भेडापालनका लागि उपयुक्त छ । चरन क्षेत्र छ । यहाँका स्थानीय भेडापालनप्रति आकर्षित भएकाले भेडा स्रोत केन्द्रको भरपुर उपयोग हुने देखिन्छ ।’ हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार यहाँको ओदी चरन क्षेत्र भएको पाटन हो । यो भेडा स्रोत केन्द्रले माथिल्लो कर्णालीका ५ जिल्ला र अन्य जिल्लासम्म यहाँ भेडा पठाउन सकिने अवस्था छ ।