close

फूलबारीमा गुराँस पार्क निर्माण गर्दै म्याग्दी वन 

फूलबारीमा गुराँस पार्क निर्माण गर्दै म्याग्दी वन 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ फूलबारीमा गुराँस पार्क निर्माणको तयारी भएको छ ।  डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फूल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पार्क निर्माण प्रक्रिया अघि बढाएको हो । 

 

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा म्याग्दीमा गुराँस पार्क बनाउने घोषणा गरेको थियो ।  नेसरानी सामुदायिक बन उपभोक्ता समूहसँग गुराँस पार्क निर्माण गर्न सम्झौता भएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

 

‘नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्ने व्यवस्था मिलाएर पर्यटक आकर्षित गर्ने उद्देश्यले गुराँस पार्क बनाउन लागिएको हो,’ उनले भने, ‘यसबाट गुराँसको संरक्षणमा पनि सहयोग पुग्छ ।’ 

 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जंगल छ । निमित्त डिभिजनल वन अधिकृत खनालका अनुसार यस क्षेत्रमा अहिले ८ प्रजातिका गुराँस पाइन्छन् ।

 

नेपालमा ३१ प्रजातिका गुराँस पाइन्छन् । देशका विभिन्न ठाउँबाट सबै प्रजातिका गुराँसको बिरुवा ल्याएर फूलबारीको पार्कमा रोप्न लागिएको हो । २८ प्रजातिका गुराँस तिनजुरे क्षेत्रमा पाइन्छन् । 


गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । २० रोपनी क्षेत्रफलमा घेराबार गरेर गुराँसका बिरुवा रोप्नुका साथै अन्य पूर्वाधार निर्माण गर्न लागिएको नेसरानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर गर्बुजाले बताए । 

 

उनका अनुसार शौचालय, खानेपानी व्यवस्थापन र पर्यटक आश्रयस्थल बनाउन लागिएको हो । गुराँसको महत्त्व र प्रजातिबारे जानकारी दिने सूचना केन्द्र पनि बनाउन लागिएको छ । आगामी असारभित्र पार्क निर्माण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष गर्बुजाले बताए ।

 

फूलबारीको गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा र निलगिरि हिमालको दृश्यावलोकन गर्न सकिन्छ । फूलबारी अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको छ ।

 

फूलबारी करबाकेली पदमार्गको पनि मुख्य गन्तव्य हो । यहाँ रातो, सेतो, गुलाबी, सुन्तलालगायत रंगका गुराँसका प्रजाति छन् । फागुन, चैत र वैशाखमा पाखैभरि ढकमक्क फुल्ने लालीगुराँसले घोडेपानी क्षेत्रको जंगल आकर्षक लाग्छ । गुराँसको जंगलको पृष्ठभूमिमा हिमाल र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न पाउनु यस क्षेत्रको विशेषता हो । 

 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गुराँसको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारलाई प्रस्ताव गरिएको बताए । घोडेपानी क्षेत्रको जंगलमा गुराँसका रुख काट्न प्रतिबन्ध लगाइएको छ । काठ र दाउराका लागि गुराँस काट्दैनन् ।