close

'सर्वोच्चले जन्मिइसकेको बच्चालाई पुनः गर्भमा पठायाे'

'सर्वोच्चले जन्मिइसकेको बच्चालाई पुनः गर्भमा पठायाे'

Trulli
ADVERTISEMENT

रूपन्देही– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि एक पटक अनिष्ट निम्त्याउन खोजिएको बताएका छन् ।

 

राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा प्रथम महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो केही समययता देशमा परिवर्तनलाई उल्ट्याउने प्रयत्न भइरहेको दाबी गरेका हुन् ।

 

देशमा संविधानलाई रक्षा गर्ने वा हत्या गर्ने भन्ने बहस सुरु भइसकेको प्रचण्डले बताए । उनले भने, ‘संविधानमा नपुगेका कुरालाई थप गर्दै लैजाने कि अहिलेका उपलब्धिलाई हत्या गर्ने भन्ने बहस जारी छ ।’

 

अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन षडयन्त्र गरिएको उनको धारणा छ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने प्रयास भइरहेको अध्यक्ष प्रचण्डले बताए ।'

 

७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्नविरुद्ध फेरि एक पटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने प्रचण्डले वताए । उनले भने, अहिले विश्वभर चलिरहेको छ, कलरफुल रिभोलुसन । क्रान्तिलाई पूरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक छ । परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’

 

प्रचण्डले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी गरे । उनले भने, ‘यस्तो अचम्म पनि हुँदो रहेछ । अनौठो परिघटना पनि हुँदो रहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ट त हुँदै छ, देशमा । अझै कति अस्वाभाविक परिघटना देख्नुपर्ने हो ।’

 

अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेराबन्दी आफूमाथि भएको पनि दाबी गरे । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपराउने देशी–विदेशी शक्ति सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरूको बदनाम गर्ने कोसिस भइरहेको छ । त्यसका लागि अहिले सबैभन्दा धेरै घेराबन्दी मैमाथि भएको छ’, प्रचण्डले भने ।