close

बरन्डामा कक्षा, एउटै कक्षामा सय विद्यार्थी

बरन्डामा कक्षा, एउटै कक्षामा सय विद्यार्थी

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुमा ज्ञानको ज्योति फैलाउन २००२ मा स्थापना भएको अनिरुद्र पब्लिक माध्यमिक विद्यालयमा भवन अभाव हुँदा बालबालिकले सास्ती बेहोर्नुपरेको छ ।

 

भारतसँग जोडिएको यशोधरा गाउँपालिकाको वडा नम्बर ५ बैदौली विद्यालयका भवन जीर्ण र कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको हो । विद्यार्थी संख्या धेरै, कक्षाकोठा कम हँुदा माध्यमिक तहका कक्षामा एउटै कोठामा १ सय बढी विद्यार्थी राखेरै अध्यापन गराउनुपर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताए । 

 

कपिलवस्तुको तेस्रो पुरानो विद्यालय पूर्वप्रधानन्यायाधीश अनिरुद्ध सिंहले २०१० बाट आधा खर्च बेहोर्ने गरी सञ्चालनमा आएको थियो । उनले वार्षिक १ सय रुपैयाँ चन्दा दिई मृत्यु अगाडिसम्म आर्थिक सहयोग गर्दै आएका थिए ।

 

विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि सिंहले १ लाख रुपैयाँ सहयोग गरेका थिए । गाउँपालिकामा १२ कक्षासम्म पढ्ने अरू विद्यालय नहुँदा विद्यार्थीको चाप बढेको छ ।

 

पालिकाभरिका ८ वटा वडाका विद्यार्थीले यही विद्यालयमा माध्यमिक तह अध्ययन गर्दै आएका छन् । विद्यालयमा कक्षा ९ मा सबैभन्दा बढी १ सय ६५ जना विद्यार्थीले एउटै कक्षामा कोच्चिएर अध्ययन गर्दै आएका छन् । बालबालिका बस्ने बेन्चमा ११ कक्षाका विद्यार्थी बस्छन् । ढाड दुखेर पढ्न समस्या ।

 

यो शैक्षिक सत्रमा आसपासका ५० बढी गाउँका १२ सय बालबालिका अध्ययन गर्दै आएका छन् । विद्यालयमा भवन अपुग छ । अझै पनि कम्तीमा थप १० कोठा आवश्यक छ ।

 

सुठौली भन्सार नाका सडक २५ मिटर कायम हुँदा ८ कोठा सडक विस्तारमा गुम्ने अवस्थामा पुगेको छ । विद्यालयमा बेन्च अभाव हुँदा ठूला विद्यार्थी होचो डेस्कबेन्च प्रयोग गरी बस्नुपरेको विद्यालयका प्रधानाध्यापक पाण्डेयले बताए । 

 

‘कक्षाकोठाको छाना टिनको भएको र झ्याल नहुँदा गर्मीमा पढ्न निकै कष्ट हुन्छ । बेन्च होचो हुँदा पढ्दा ढाड दुख्ने समस्या छ,’ कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुभाष यादवले भने ।


विद्यालयको विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दीसमेत न्यून छ । निम्न माध्यमिक र प्राथमिक गरी १४ जना शिक्षकको दरबन्दी रहेको छ । विद्यार्थी अनुपातअनुसार दरबन्दी नहुँदा एकै कक्षामा धेरै बालबालिका पढाउनुपर्ने बाध्यता छ । उनीहरूलाई बुझाएर पढाउनसमेत कठिन रहेको शिक्षक अनिता यादवले बताए ।

 

३ लाख रुपैयाँ खर्च गर्न नसक्दा भारतीय दूतावासमा प्रस्ताव अगाडि बढेन । प्रस्ताव पेस गरे पनि माटो परीक्षणका लागि ३ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएपछि रकम अभावका कारण काम रोकिएको विद्यालय प्रशासनले जनाएको छ ।२००२ मा स्थापना भएको विद्यालयले आउँदो वैशाख पहिलो पहिलो ७५औँ हिरक महोत्सव मनाउने तयारी गरेको छ ।