close

मिक्वाखोलामा खुल्यो आरोग्य सेवा केन्द्र

स्थानीयलाई निःशुल्क उपचार

मिक्वाखोलामा खुल्यो आरोग्य सेवा केन्द्र

स्थानीयलाई निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङ (साँवा) मा आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । आयुर्वेदिक उपचार प्रणालीसँग जोडिएको सेवा केन्द्रमार्फत स्थानीयले निःशुल्क उपचार पाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गम्भीर झाले जानकारी दिए । 

 

आरोग्य सेवा केन्द्र उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रामकुमार साँवाले केन्द्रमार्फत स्थानीयले आयुर्वेदिक पद्धतिको उपचारसहितको सेवा पाउने विश्वास लिए ।  सरकारले स्थानीय तहका वडाका स्वास्थ्य संस्थासम्म आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यविधि नै ल्याएको छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७६ मा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथीलगायत चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिने उल्लेख छ । 

 

चालू आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले तय गरेको नीति तथा कार्यक्रममा समेत आयुर्वेद, युनानी, होमियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गरी नागरिकलाई योगाभ्यास र शारीरिक व्यायामसहितको जीवन पद्धति अपनाउन प्रेरित गरिने उल्लेख छ । 

 

नीति तथा कार्यक्रममार्फत नै स्थानीय तहका वडाहरूमा व्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्र स्थापना गर्न प्रोत्साहित गरिने घोषणा गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी टेकनाथ अर्यालले सरकारले तय गरेको योजना र कार्यक्रमअनुसार धमाधम आरोग्य सेवा केन्द्र स्थापना गर्न थालेको जानकारी दिए ।

 

सरकारले घोषणा गरेको कार्यविधिअनुसार आरोग्य सेवा केन्द्र सञ्चालनका लागि न्यूनतम ३ जनाको जनशक्ति चाहिन्छ । कविराज÷वैद्य १ जना र अभ्यंगकर्ता (महिला र पुरुष १–१ जना) २ जना चाहिने कार्यविधिमा उल्लेख छ । नागरिक आरोग्य सेवा प्रवाहका लागि प्रयोग हुने जनशक्तिलाई तालिमको व्यवस्था भने सम्बन्धित स्थानीय तहले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

 

आरोग्य सेवा केन्द्रले प्रदान गर्ने न्यूनतम सेवा प्रवाह सरकारले तय गर्नेछ भने थप सेवा प्रवाह र स्तरोन्नतिको कार्य भने सम्बन्धित स्थानीय तहले गर्न सक्ने प्रावधान छ । आरोग्य सेवा केन्द्र सञ्चालन गर्ने सम्बन्धित वडाको स्वास्थ्य केन्द्र छनोट सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ ।