close

मासिक कमाइ २ लाखले भुलायो सिंगापुरे जागिर 

मासिक कमाइ २ लाखले भुलायो सिंगापुरे जागिर 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ का कुइटो लिम्बू सिंगापुर पुलिस जागिर खान २ वर्षसम्म धरानमा बसे । बिहान-बेलुका माटो-ढुंगा बोकेर उकालो-ओरालो गर्दै असिनपसिन भएरै तालिम लिए । 

 

२ पटकसम्म प्रयास गर्दासमेत सिगापुरे लाहुरे हुन सफल भएन्न्, उनी । जागिर खान असफल भएपछि उनले आफ्नै माटोमा पौरख गर्ने योजना बनाए । उनले आफ्नै माटोमा पौरख गर्ने योजना बनाएर सुँगुरपालन व्यवसाय सुरु गरे । 


पहिला तालिमका लागि नै लाखौँ रुपैयाँ खर्चिएका कुइटोले अहिले महिनामै लाखौँ आम्दानी गरिरहेका छन । सुँगुर पालेरै मासिक २ लाख रुपैयाँसम्म कमाइ हुने उनले बताए । कुइटोको बंगुर फर्ममा ३ वटा भाले र ३२ वटा माउ छन् ।

 

१ पटकमा एउटा माउले १५ वटासम्म बच्चा जन्माउँछ । एउटा बच्चा ६ हजार ५ सयदेखि ७ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । वार्षिक साढे ४ सय वटा बच्चा उत्पादन हुने गरेको कुइटो बताउँछन् । 

 

३ वर्षअघि ९ लाख रुपैयाँ लगानीबाट बंगुरपालन सुरु गरेका कुइटोका लगानी अहिले करोड नाघेको छ । उनको दिनचर्या बंगुर रेखदेखमै बित्ने गरेको छ । खोर सफा गर्ने, पानी खुवाउनेसम्मका काम दैनिकीजस्तै भएको उनी बताउँछन् छ । 

 

‘खोरमा १ सयदेखि ४ सय किलोसम्मका सुँगुर छन् । भुनि (पोथी) १ सयदेखि माथिका र बुच्चा ४ सय किलोग्रामसम्मका छन् । बजार अभाव थिएन । नगरपालिकाले सहयोग गरेका कारण व्यवसाय गर्न सहज भएको छ’, कुइटो खुसी सुनिए ।

 

लकडाउनको समय नगरप्रमुखले नै पहल गरेर सुँगुरका लागि दाना ल्याउन सहज भएको उनले बताए । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगका कारण व्यवसाय फस्टाएको हो । 

 

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले आफ्नै नगरमा केही गर्छौं भन्ने युवालाई सहयोग गरिने बताए । गरिबसँग नगरपालिका, युवा उद्यमशीलता तथा सहुलियत कर्जाजस्ता कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख सुवेदीले जानकारी दिए ।