close

प्रदेश १ मा २ सय ७३ जनालाई बेपत्ता परिचयपत्र बाँड्दै आयोग

प्रदेश १ मा २ सय ७३ जनालाई बेपत्ता परिचयपत्र बाँड्दै आयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- १० वर्षे सशस्त्र द्वन्द्व अवधिमा प्रदेश १ भरमा बेपत्ता भएकामध्ये ३ सय ७ जनाको छानबिन निर्णय भएको बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगले जनाएको छ । 

 

पीडित पहिचान,परिचयपत्र वितरण तथा आयोगका काम-कारबाहीका सम्बन्धमा शुक्रबार फुङ्लिङमा आयोजित कार्यक्रममार्फत आयोगले यस्तो जानकारी दिएको हो ।

 

आयोगका सचिव कृष्णजीवी घिमिरेका अनुसार प्रदेश १ भरमा अहिलेसम्म पहिचान भएका ३ सय ७ जना बेपत्तामध्ये ३४ जनाको अनुसन्धान तोकिएको तर काम नभएको अवस्था छ । ताप्लेजुङबाट बेपत्ता सम्बन्धमा आयोगमा २६ वटा उजुरी परेकामा ६ वटालाई तामेलीमा राखिएको र १ वटा उजुरी दोहोरो परेका कारण काटिएकाले १९ वटा उजुरी विस्तृत छानबिन गर्ने भनी आयोगले निर्णय गरेको आयोगका प्रदेश १ संयोजन गर्ने सदस्य विश्वप्रकाश भण्डारीले जानकारी दिए ।

 

उनका अनुसार इलाममा २१ वटा उजुरीको विस्तृत छानबिन निर्णय भई अनुसन्धान तोकिए पनि एउटा उजुुरीको काम पनि भएको छैन । उदयपुरका ३१ मध्ये १० वटाको, ओखलढुंगाका २३ मध्ये ४ वटाको, खोटाङका १० मध्ये ३ वटाको, झापाका ४१ मध्ये ३ वटाको र ताप्लेजुङका १९ मध्ये एउटा उजुरीको अनुसन्धान तोकिए पनि काम पूरा भएको छैन ।

 

तेह्रथुमका १६ र धनकुटाका १४ र सुनसरीका २८ मध्ये सबै उजुरीको विस्तृत छानबिन पूरा भएको आयोगका सहसचिव शम्भुबहादुर खड्काले जानकारी दिए । यस्तै, पाँचथरका १२ मध्ये २, भोजपुरका ९ मध्ये २, मोरङका ३४ मध्ये ३, संखुवासभाका १३ मध्ये २ र सोलुखुम्बुका २६ मध्ये ३ वटा उजुरीको अनुसन्धान तोकिए पनि काम पूरा भएको छैन ।

 

बेपत्ता छानबिन आयोगमा प्राप्त उजुरीमध्ये तामेलीमा राखिएको र दोहोरो उजुरीका कारण काटिएर विस्तृत छानबिनको निर्णय भएको अवस्थाका ३ सय ७ मध्ये अनुसन्धान तोकिएको तर काम पूरा नभएको अवस्थाका ३४ लाई छाडेर बाँकी २ सय ७३ जनालाइ भने आयोगले परिचयपत्र वितरण अघि बढाउने भएको छ । 

 

बाँकी ३४ जनाको पनि अनुसन्धान कार्य पूरा भएपछि परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ । 

 

आयोगका अध्यक्ष युवराज सुवेदीका अनुसार देशभरबाट विभिन्न माध्यम हुँदै आयोगमा ३ हजार २ सय २३ वटा बेपत्ताका उजुरी प्राप्त हुन आएकामा ४ सय १४ वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । १ सय ३७ वटा उजुरी उजुरकर्ताको अनुरोधमा पुनः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ ।

 

१ सय ३१ वटा उजुरी दोहोरो परेका कारण लगतकट्टा गरिएको समेत आयोगले जनाएको छ । ३ सय ५ वटा उजुरी भने तामेलीमा राखिएको छ ।

 

२ हजार ५ सय १० वटा उजुरी आयोगले विस्तृत छानबिन गर्ने भनी निर्णय गरेकामा उजुरीका आधारमा २ हजार ५ सय २२ जना व्यक्ति बेपत्ता भएको अवस्था देखिएको समेत आयोगले बताएको छ ।

 

यसमा तामेलीमा राखिएकाको संख्या गणना भएको छैन । २ सय १८ वटा उजुरीको अनुसन्धान अधिकारी तथा कार्यटोली तोकिए पनि विस्तृत छानबिन कार्य नभएको आयोगले जनाएको छ । 

 

कार्यक्रममा प्रदेश सांसद बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले सहभागिता जनाएको थिए ।

 

यस्तै, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई, जिल्ला न्यायाधीश प्रकाश राउत, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित विभिन्न राजनीतिक दलका अगुवा, पीडित परिवारको सहभागिता थियो ।