close

खोप केन्द्र अनुगमनमा काठमाडौं महानगर प्रमुख शाक्य

खोप केन्द्र अनुगमनमा काठमाडौं महानगर प्रमुख शाक्य

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली महानगरभित्रका कोभिडविरुद्धको खोप केन्द्र अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङबेँसीकी दण्डकुमारी ढकाल खोप लगाएर आराम गरिरहेकी थिइन् ।

 

दण्डकुमारीको छेउमै पुगेर प्रमुख शाक्यले ‘खोप लगाएपछिको आमाको स्वास्थ्य अवस्था कस्तो छ’ भनी प्रश्न गरे । प्रमुख शाक्यको प्रश्न पूरा हुन नपाउँदै दण्डकुमारीले थोरै मुस्कानसहित भनिन्, ‘च्यास्स घोचेजस्तो लागेको थियो । बाबुले त खोप लगाइसक्नु भएछ । अहिले त्यस्तो केही गाह्रो महसुस भएको छैन ।’ 

 

छेउमै भेटिएका चिन्तामणि दवाडीले पनि दण्डकुमारीकै जस्तो अनुभव सुनाए । कुराकानीकै सिलसिलामा प्रमुख शाक्यले देशको प्रधानमन्त्री, मन्त्रीहरू र आफूले समेत खोप लगाइसकेको भन्दै आम नागरिकलाई ढुक्क भएर लगाउन हौसला दिने उद्देश्यले खोप केन्द्रको अनुगमनमा निस्केको बताए । 

 

‘तपाईंहरूले खोप लगाउनुभयो । अब यो सन्देश टोलटोलमा लिएर जानुहोला र सबैलाई खोप लगाउन प्रोत्साहन गर्नुहोला’, शाक्यले भने, ‘खोप लगाउँदा कुनै समस्या हुँदैन । यदि त्यस्तो केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधि तपार्ईंको घर-दैलोमै आएर आवश्यक सहयोग गर्न तयार छन् ।’ 

 

कोप केन्द्रमै खोप लगाएपछि काठमाडौं महानगरले व्यवस्था गरेको चिया–कुकिज खाँदै आराम गरिरहेकी धनसरी गुरुङ, सीताकुमारी राना र महेश्वर अधिकारीले पनि काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टोली अनुगमनमा आउँदा खुसी लागेको भन्दै सरकार र महानगरलाई धन्यवाद दिए ।

 

‘सरकारले यति छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ला र हामीले यति सजिलै लगाउन पाउँछौँ भन्ने कल्पना पनि गरेका थिएनौँ’, उनीहरूले एकै स्वरमा भने, ‘अझ काठमाडौं महानगरपालिकाले यसरी खोप केन्द्रमा गरेको व्यवस्थापन र अनुगमनले थप खुसी भयौँ । अब टोलछिमेकका सबैलाई खोप लगाएर ढुक्क हुन आग्रह गर्छाैं ।’ 

 

शुक्रबार नै प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्बन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित वीरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एन्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुगे । प्रमुख शाक्य ओम अस्पताल पुग्दा अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठ ज्येष्ठ नागरिकलाई खोप लगाउन प्रोत्साहन दिइरहेका थिए ।

 

उनले चावहिल केन्द्रबाट मात्रै बिहीबारसम्म १२ सय ८७ पुरुष र १२ सय ३७ महिलाले खोप लगाएको र कसैलाई पनि गम्भीर ज्वरो आउनेलगायत ठूलो समस्या नदेखिएको भन्दै ढुक्कसँग खोप लगाउन आग्रह गरे ।

 

‘अहिलेसम्म धेरै समस्या भयो भन्ने गुनासो आएको छैन’, डा. श्रेष्ठले भने, ‘अहिले काठमाडौं महानगरपालिकाले गरेको व्यवस्थापन सन्तोषजनक छ । सबै मिलेर कोभिडविरुद्धको युद्ध जित्नुपर्छ ।’ 

 

अनुगमनकै सिलसिलामा प्रमुख शाक्यले अहिले पनि केही नागरिकमा कोरोनाविरुद्धको खोप लगाउनुहुन्न भन्ने भ्रम रहेको भन्दै त्यस्तो भ्रममा नपरी ढुक्कसँग खोप सुविधा लिन आग्रह गरे । ‘आम नागरिकमा सकारात्मक सन्देश दिन सबैभन्दा ठूलो भूमिका सञ्चार माध्यमकै हुन्छ’, शाक्यले भने, ‘तपाईंहरूले सकारात्मक सन्देश दिनुहोला । आम नागरिकलाई खोपबाट वञ्चित नगराउने दायित्व सरकारको हो ।’ 

 

सम्पन्न मुलुकहरूमा समेत अहिले खोपको पहुँच नपुगेको अवस्थामा नेपालीले खोप सुविधा पाउनु गौरवको कुरा भएको उनले बताए । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था भएकाले आफूलाई पायक पर्ने स्थानमा खोप लगाउन पनि मेयर शाक्यले आग्रह गरे ।

 

‘खोपबाट कसैलाई वञ्चित गराउनुहुन्न भन्ने हाम्रो अभियान हो,’ शाक्यले भने, ‘प्राथमिकतामा परेका तपाईंहरूलाई जहाँ पायक पर्छ, त्यही केन्द्रमा पुगेर खोप लगाउनुहोला । महानगरपालिका सहजीकरण गर्न तयार छ ।’ 


सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि २३ फागुनबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रका १४ स्थान तोकिएको भन्दै प्राथमिकतामा परेका सबैलाई खोप लगाउन आग्रह गरे । 

 

उनले २८ फागुनसम्म ३३ हजार १ सय ३७ जनाले खोप लगाएको बताए । त्यसमध्ये पुरुष १७ हजार ३ सय ८९ र महिला १५ हजार ७ सय ४८ रहेको बताए । उनले काठमाडौँ महानगरपालिका सबै केन्द्रमा चिया, कुकिज, फलफूल, पानी र टेन्टको व्यवस्था गरेको जानकारी दिए ।