close

जिल्ला समन्वयको प्रतिवेदन भक्तपुर नगरप्रमुखद्वारा अस्वीकृत

जिल्ला समन्वयको प्रतिवेदन भक्तपुर नगरप्रमुखद्वारा अस्वीकृत

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर जिल्ला समन्वय समिति भक्तपुरले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटप्रति भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति तथा उपप्रमुख रजनी जोशीले असहमति जनाएका छन् ।

 

जिल्ला समन्वय समितिको तेस्रो जिल्लासभा बैठकमा नगरप्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यमाथि नै प्रश्न गरे । उनले भने, ‘जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एनजीओ/आईएनजीओको प्रतिवेदनजस्तो छ ।’

 

भक्तपुर नगरप्रमुख प्रजापतिले सांसद नीति निर्माता भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताए । संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहमा बजेट निकासा गर्नुपर्नेमा उनले जोड दिए ।


भक्तपुरका ४ वटा नगरपालिकालाई कोषमा रहेको रकम समान रूपमा निकासा गर्नुपर्ने र सभाको नीति तथा कार्यक्रममा भक्तपुरका निम्ति सञ्चित कोषबारे उल्लेख नहुनुको कारणबारे जिसस प्रमुखसँग प्रश्न गरे ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले जिसस बैठकबाट पारित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

उक्त बैठकमा भक्तपुरका उपप्रमुख जोशी, सूर्यविनायकका प्रमुख वासुदेव थापा, चाँगुनारायणका उपप्रमुख वीणा बाँस्तोला, तेस्रो जिल्लासभाका सदस्यहरूको उपस्थिति थियो । 

 

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले स्वागत गरेकी थिइन् भने जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिसस भक्तपुरको योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।