close

एसईईका लागि १२ चैतभित्र परीक्षा केन्द्र सिफारिस गर्न पनिकाको परिपत्र

एसईईका लागि १२ चैतभित्र परीक्षा केन्द्र सिफारिस गर्न पनिकाको परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र सिफारिस गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्तसहित परिपत्र गरेको छ ।

 

पनिकाको सर्तअनुसार परीक्षा केन्द्र सम्भव भएसम्म अघिल्लो वर्षको तुलनामा नबढ्ने गरी सिफारिस गर्नुपर्नेछ । समन्वय इकाइले १२ चैतभित्र जिल्लाभर कायम हुने परीक्षा केन्द्र सिफारिस गरी पनिकामा पठाउनुपर्नेछ ।

 

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार परीक्षा सञ्चालनका लागि समन्वय इकाइले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा राखिएको एक्सल फरम्याटअनुसार परीक्षा केन्द्र र सो केन्द्रअन्तर्गत रहने विद्यालयको नाम (कोड) समेत संलग्न राखी पठाउनुपर्नेछ ।

 

परीक्षार्थी संख्या बढ्न गई केन्द्र बढाउनुपर्ने अवस्था भए सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गरी निकासमा पुग्नसमेत पनिकाले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

 

पनिकाले प्राविधिक धार तथा ग्रेड वृद्धितर्फका परीक्षार्थीको परीक्षा केन्द्र जिल्ला सदरमुकाम वा जिल्लाका सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा कायम गर्नसमेत समन्वय इकाइको ध्यानाकृष्ट गराएको छ ।

 

प्रयोगात्मक प्राप्तांक वेबसाइटमा राखिएको एक्सल फरम्याटमा विद्यालयलाई प्रविष्ट गर्न लगाई सफ्ट तथा हार्ड १-१ कपी परीक्षा नियन्त्रण कार्यालयमा पठाउनसमेत पनिकाले परिपत्र गरेको छ ।

 
त्रिविका परीक्षा केन्द्रमा सिसिटिभी अनिवार्य

 

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने सम्पूर्ण परीक्षा केन्द्रमा सिसिटिभी अनिवार्य गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने सम्पूर्ण परीक्षा केन्द्रमा २० चैतभित्र सिसिटिभी जडान गर्न निर्देश गरेको हो ।

 

विश्वविद्यालयले परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी सिसिटिभी जडान गर्न भनेको छ । यो सिसिटिभीको रेकर्ड कम्तीमा डेढ महिनासम्म राख्न मिल्ने गरी व्यवस्था गर्नसमेत त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको छ ।

 

यसको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालनको व्यवस्था गरिनेसमेत विश्वविद्यालयले जनाएको छ । सिसिटिभी जडानसहितका कार्य नगर्ने परीक्षा केन्द्रलाई आगामी वर्षबाट परीक्षा केन्द्रका रूपमा कटौती गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।