close

भक्तपुरमा बुद्धिचाल र विद्यालय स्तरीय खेल

भक्तपुरमा बुद्धिचाल र विद्यालय स्तरीय खेल

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । सहिद दिवस अवसरमा आयोजित प्रतियोगिता शनिबारदेखि ३ चैतसम्म सञ्चालन हुनेछ । 

 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्रतियोगिताको उद्घाटन गरे । अध्यक्ष बिजुक्छेले शारीरिक तन्दुरुस्तीका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्दै राजनीतिक कार्यकर्तालाई पनि यस्ता प्रतियोगितामा समावेश गर्नुपर्ने बताए ।

 

भक्तपुरले विद्यालय स्तरमा लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गर्नुपर्ने बताउँदै उनले खेलाडीले खेलकुदको माध्यमबाट देशलाई चिनाउन सक्नुपर्नेमा जोड दिए ।

 

सो अवसरमा बिजुक्छेले नगरपालिकाले आयोजना गरेको नगर स्तरीय र विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई खेलकुद महोत्सवको संज्ञा दिए । खेलाडीलाई आत्मकेन्द्रित भई खेलको विकासमा लाग्न सुझाए ।


 
कार्यक्रमका सभापति एवं नगरप्रमुख सुनील प्रजापतिले भक्तपुर नगर ४ दिनसम्म खेलकुदमय हुने बताउँदै प्रतियोगिता व्यवस्थित र अनुशासित ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरे । 

 

भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्पmत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन यो खेल प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । २२ वटा नगरपालिका सहभागी अन्तरनगर बुद्धिचाल प्रतियोगिता भक्तपुरको माहेश्वरी बैंक्वेट हलमा सुरु भएको छ ।