close

४ वर्षसम्म पाएनन् श्रमिकले ज्याला, न्यायिक समिति पनि माैन

४ वर्षसम्म पाएनन् श्रमिकले ज्याला, न्यायिक समिति पनि माैन

ADVERTISEMENT

गुल्मी -  जिल्लाको छत्रकोट गाउँपालिका–४ को शृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका श्रमिकहरूले चार वर्षदेखि ज्याला नपाएको बताएका छन् । लामो समयसम्म काम गरेको रकम नपाएपछि श्रमिकहरूले छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेविरुद्ध न्यायिक समितिमा उजुरी दिएका छन् ।


न्यौपाने ०७३ मा शृंगा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष थिए । ०७३ साउन २४ मा न्यौपाने अध्यक्षताको निर्माण समिति बैठकले केन्द्रको कम्पाउन्ड पर्खाल लगाउने, पुरानो पर्खाल भत्काउने र जग खन्ने कामका लागि १ लाख १० हजार रुपैयाँमा मानबहादुर चौधरीलाई निर्माणको जिम्मा दिएको थियो ।  चौधरीलाई पर्खाल लगाउन प्रतिघनमिटर १ हजार ५ सयका दरले दिने निर्णय समितिमार्फत भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा पलम्बिङ, इलेक्ट्रिोनिक्स र टायल राख्ने काम सन्तवीर नेपालीले पाएका थिए ।


चौधरीले निर्माण समितिबाट ५ लाख ११ हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् । उक्त रकममध्ये १ लाख ८५ हजार मात्रै दिइएको चौधरीले बताए । उनले भने, ‘अझै ३ तीन लाख पाउनुपर्ने छ । लामो समयसम्म न्यौपाने र निर्माण समितिसँग पैसा मागे पनि दिएनन् । अन्तिममा घर धितो राखेर काम गर्ने श्रमिकलाई ज्याला दिनुपर्‍यो ।’


आफूले सम्झौताअनुसारको काम गरे पनि वडाध्यक्षका कारण रकम पाउन नसकेको उनको गुनासो छ  । काम गरेको रकम नउठ्ने देखिएपछि गाउँपालिकाको न्यायिक समितिमा वडाध्यक्ष न्यौपानेविरुद्ध उजुरी दिए पनि अहिलेसम्म छलफलै नचलेको चौधरीले बताए । 


सोही प्राथमिक स्वास्थ्य केन्द्रमा पलम्बिङ, इलेक्ट्रिोनिक्स र टायलको काम गरेका सन्तवीर नेपाली करिब डेढ लाखको काम गराएर ५० हजार मात्रै दिइएको बताउँछन् । उनले काम गरेको ज्याला र निर्माण सामग्री खरिद गर्दाको रकम नदिएर चार वर्षसम्म वडाध्यक्षले नै श्रमिकको शोषण गरेको आरोप लगाए । ‘पालिकाभन्दा निर्माण समितिले काम दिएकाले पैसा पनि समितिमार्फत  पाउनुपर्ने माग गरेका छौं’, नेपालीले भने ।

 

छत्रकोट गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक नर्मदा भण्डारी  काम गरेर खाने श्रमिकको श्रम शोषण कोही–कसैले गरेको पाइए कारबाही गरिने दाबी गर्छिन् । उनले भनिन्, ‘वडाध्यक्ष न्यौपानेलाई छिटोभन्दा छिटो काम गरेको पैसा दिने वातावरण मिलाउन भनेका छौं ।

 

कार्यान्वयन गर्ने कार्यालयको विभाजन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने दुवै निर्माण व्यवसायीको मृत्युको कारण समस्या बल्झिँदै गएको हो ।’ उनले समितिमा मानबहादुर चौधरीको बाहेक अरुको निवेदन नपरेको दाबी गरिन्  ।


शृंगा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको ४ वर्ष पुगे पनि भवन हस्तान्तरण भएको छैन । निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी रामप्रसाद पन्थ र हरि न्यौपानेको दुर्घटनामा निधन भएको छ । शृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म निर्माण समितिले गरेको कामको कुनै लागत, सम्झौता, बिल भर्पाइ र प्रतिवेदन छैनन् । 


स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामचन्द्र ज्ञवाली भवन निर्माणदेखि बाँकी काममा समेत कार्यालयको कुनै सहभागिता नरहेको बताउँछन् । ‘स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने कार्यालय पनि पुनर्संरचनासँगै विभाजित भए । तत्कालीन सहरी विकास तथा भवन डिभिजन विभाग पाल्पा अहिले संघमा समायोजन भएको छ’, उनले भने ।


संघीय आयोजना कार्यान्वयन इकाइ भैरहवाका प्रमुख राजेन्द्र पाण्डेयले कार्यालयमा अहिले निर्माण व्यवसायीको धरौटी मात्रै आएको जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीको मृत्यु भएको, सम्झौताअनुसार काम नभएको हुँदा  समस्या देखिएको हो ।’


कानुनी रुपमा निर्माण व्यवसायीबाहेक धरौटी रकममार्फत उपभोक्ता वा निर्माण समितिले काम गरेर खर्च गर्न नपाइने प्रावधान रहेको उनले बताए । छत्रकोट गाउँपालिका वडा–४ का वडाध्यक्ष डिलाराम न्यौपानेले भने आफूलाई तत्कालीन सहरी विकास तथा भवन डिभिजन विभाग पाल्पाले समस्यामा पारेको दाबी गर्छन् । 


‘निर्माण व्यवसायीको मृत्युपछि कार्यालयले पाल्पा बोलाएर केन्द्रको बाँकी कामलाई १२ लाखमा सम्झौता गराएको हो । त्यतिबेला ७ लाख मात्रै भुक्तानी दिएकाले  सबैको पैसा दिन नसकिएको हो’, न्यौपानेले भने । काम गर्नेले सबै पैसा नपाएको सत्य भए पनि आफूले रकम दुरुपयोग नगरेको उनको दाबी छ ।