close

गाउँमै डोजर अपरेटर उत्पादनमा जुट्यो गुल्मी दरबार

गाउँमै डोजर अपरेटर उत्पादनमा जुट्यो गुल्मी दरबार

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको गुल्मी दरबार गाउँपालिकाले स्थानीय युवालाई डोजर अपरेटर बनाउने अभियान थालेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत गाउँपालिकाका ९ जना युवालाई १ महिने तालिमका लागि काठमाडौं पठाइएको हो ।

 

तालिममा सहभागी हुने युवाहरूलाई गाउँपालिका प्रमुख अशोककुमार थापाले बिदाइ गरे । तालिमका लागि पालिकाले डोजर टे«निङ सेन्टर भक्तपुरसँग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।

 

तालिममा सहभागीलाई खाने, बस्ने, तालिम र यातायात खर्च गाउँपालिका आफैंले व्यवस्था गरेको छ । पछिल्लो समय सडक निर्माण र मर्मतका लागि डोजरको माग बढ्दो छ । 

 

त्यसबाहेक अरू थुप्रै निर्माणका काममा डोजरको प्रयोग हुने भएकाले गाउँमै जनशक्ति उत्पादन गर्ने उद्देश्यले युवाहरूलाई डोजर अपरेटर तालिमका लागि काठमाडौं पठाइएको पाण्डेयले बताए । 

 

गाउँकै युवाहरू तालिम प्राप्त भएपछि गाउँपालिका आफैंले डोजर सञ्चालन गरेर सडक मर्मत र निर्माणको काम गर्न पनि सकिनेछ । गाउँपालिकाले तालिमका लागि प्रत्येक वडाबाट चालक अनुमतिपत्र भएका, रोजगारी गुमेका, विपन्न तथा असहाय १/१ जना युवाको आवेदन मागेको थियो ।

 

अहिलेसम्म गाउँपालिकाले निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण र मर्मतको काम गरिरहेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारमार्फत डोजर अपरेटरसहित आयआर्जनका २० बढी कार्यक्रम सञ्चालन हुुँदै छन् ।

 

सिलाइ-कटाइ, अचार बनाउने, हाउस वायरिङ र प्लम्बिङलगायत कार्यक्रम संचालनको योजनामा रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । गाउँ-गाउँमा सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गरेर नागरिकको आर्थिक स्थितिमा परिवर्तन गर्न गाउँपालिका आफैं र सहकार्यमार्फ थुप्रै काम भइरहेको उनको दाबी छ ।

 

त्यस्तै, गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ सय ५ जनालाई सय दिने रोजगारी प्रदान गरिरहेको छ । गाउँपालिका प्रमुख थापाका अनुसार श्रमिकमार्फत प्रत्येक वडामा मुख्य सडक मर्मत, घोडेटो बाटो निर्माण, पोखरी मर्मत तथा हेलिप्याड निर्माणको काम भइरहेको छ ।