close

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड

Trulli
ADVERTISEMENT

 

काठमाडौं - सिभिल बैंकले किसानहरूको समृद्धिका लागि ‘किसान समृद्धि कार्ड’ सुविधा सञ्चालनमा ल्याएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सबै किसानको समृद्घिका लागि बैंकले यस्तो कार्ड सेवा सुरु गरेको हो ।


कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषिबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेका बेला उक्त बचत रकम झिक्ने र नपुग भए सोही खाताबाट कर्जाको रुपमा रकम झिक्न सकिने बैंकले जनाएको छ ।


यो ऋण सुविधा लिन खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न सकिनेछ भने प्रतिकृषक परिवार ५ लाखसम्मको ऋण सुविधा उपलब्ध गराइने बैंकले बताएको छ ।


यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा बचत खाता खोल्नुपर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्नेछ ।  यदि खातामा भएको बचतभन्दा बढी रकम झिके बैंकलाई ब्याज बुझाउनुपर्ने प्रावधान छ ।


हरेक त्रैमासिकको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ । 


यो ऋण सुविधा कृषिलाई मुख्य पेसाका रुपमा अँगाल्ने कृषकलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ, जुन आफूलाई रकम आवश्यक परेका बेला  सजिलै उपयोग गर्न सकिने बैंकको भनाइ छ । 


हाल कोरोनाका कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत कृषि उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो ऋण सुविधा सुरु गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।